काठमाडौं। हेटौंडाका ११ वर्षीय बालगायक आर्मोन कार्की ‘द भ्वाइस किड्स सिजन–५’ को ब्लाइन्ड अडिसन राउण्ड पार गर्दै नेक्स्ट राउण्डमा प्रवेश गरेका छन्।
आर्मोनले स्वरसम्राट द्वारा गाइएको देशभक्तिपूर्ण गीत ‘वीरताको चिनो वीरको सन्तान’ प्रस्तुत गर्दै उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए। उनको दमदार प्रस्तुति देखेर कोचद्वय र ले बेल बजाउँदै आफ्नो कुर्सी फर्काएका थिए।

टिम छनोट गर्ने क्रममा आर्मोनले मिलन नेवारलाई ‘सरी म्याम’ भन्दै कोच अर्जुन सापकोटाको टिम रोजेका थिए। उनका स्वर, आत्मविश्वास र प्रस्तुतीको सबै कोचहरूले खुलेर प्रशंसा गरेका थिए।
हाल कक्षा ६ मा अध्ययनरत आर्मोन सानै उमेरदेखि गीत सुन्ने र गाउने गर्थे। नर्सरी कक्षामा अध्ययनरत हुँदा उनले विद्यालयको सांस्कृतिक कार्यक्रममा करिब ५०० दर्शकमाझ ‘यो नेपाली शिर उचाली’ गीत प्रस्तुत गर्दै सबैको मन जितेका थिए।
नर्सरीदेखि कक्षा ६ सम्मको यात्रामा उनले विद्यालय, जिल्ला तथा प्रदेशस्तरीय विभिन्न गायन प्रतियोगिताहरूमा सहभागी भई थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्। अब उनको लक्ष्य ‘द भ्वाइस किड्स सिजन–५’ को उपाधि जित्ने रहेको छ।
गायनका अतिरिक्त आर्मोन गिटार, हार्मोनियम र पियानो पनि कुशलतापूर्वक बजाउँछन्। उनी अध्ययन र चित्रकलामा पनि उत्तिकै अब्बल छन्। उनले बनाउने चित्रहरू प्रायः नेपाल तथा भारतका प्रतिष्ठित गायक–गायिकाका हुने गरेका छन्, जसले संगीतप्रतिको उनको गहिरो लगावलाई झल्काउँछ।
आर्मोन आफ्नै बुवालाई आफ्नो प्रेरणाको स्रोत मान्छन् भने स्वरसम्राट नारायण गोपाल र लाई आफ्नो आदर्शका रूपमा लिन्छन्।
‘द भ्वाइस किड्स’ मा आर्मोन मात्र होइन, उनकी बहिनी आध्या कार्की पनि सहभागी भएकी थिइन्। उनले स्वरसम्राट नारायण गोपालकै चर्चित गीत ‘यति धेरै माया दिई’ प्रस्तुत गरेकी थिइन्। यद्यपि उनी अर्को चरणमा पुग्न नसके पनि आफ्नो उत्कृष्ट गायिकी र सही टाइमिङमार्फत सबै कोचहरूको मन जित्न सफल भइन्। कोचहरूले उनको प्रतिभाको खुलेर प्रशंसा गरेका थिए।
आर्मोनका बुबा पेशाले शिक्षक हुन् भने आमा नर्स हुन्। तर, उनीहरूले आफ्ना सन्तानमाथि कुनै पेशागत दबाब नदिई उनीहरूको चाहना र रुचिअनुसार सांगीतिक क्षेत्रमा अघि बढ्न निरन्तर हौसला प्रदान गर्दै आएका छन्।
बदलिँदो समाजमा आफ्ना सन्तानलाई केवल डाक्टर, इन्जिनियर वा आईटी क्षेत्रमै भविष्य देख्ने अभिभावकहरूका लागि आर्मोनको परिवार प्रेरणादायी उदाहरण बनेको छ।














