चौरीदेउराली, काभ्रे । करिब दुई दशकअघि श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नेतृत्वले देखेको सामूहिक सपना अन्ततः साकार भएको छ। संस्थाले निर्माण गरेको नवनिर्मित बहुउद्देश्यीय भवन भव्य समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ।
संस्थाका अध्यक्ष लक्ष्मण गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा चौरीदेउराली गाउँपालिकाकी अध्यक्ष रेनुका चौलागाईं प्रमुख अतिथि तथा वडा नं. ३ का अध्यक्ष चित्रप्रसाद चौलागाईं विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, शिक्षकहरू, शेयर सदस्यहरू, शुभेच्छुकहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भ पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। त्यसपछि सभापति तथा प्रमुख अतिथिबाट रिबन काटी भवन उद्घाटन तथा शिलाअनावरण गरिएको थियो। भवन परिसरमा राष्ट्रिय झण्डा तथा सहकारी झण्डा उत्तोलन गरी कार्यक्रमलाई थप गरिमामय बनाइएको थियो।
भवन निर्माणका क्रममा महत्वपूर्ण योगदान पुर्याउने पूर्व पदाधिकारी, व्यवसायी तथा निर्माण प्रक्रियामा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेनुका चौलागाईंले संस्थाको लोभलाग्दो प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा गाउँपालिकाभित्रका सहकारीहरूको अभिभावकत्व ग्रहण गर्न सक्ने स्तरमा संस्थाले व्यावसायिक गतिविधि विस्तार गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि चित्रप्रसाद चौलागाईं तथा अन्य अतिथिहरूले पनि संस्थाको उपलब्धिको प्रशंसा गर्दै संस्था र सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष लक्ष्मण गौतमले बहुउद्देश्यीय भवन तथा सुपथ मूल्य पसल उद्घाटन गर्न पाउनु आफ्नो जीवनकै गौरवपूर्ण क्षणमध्ये एक भएको बताउनुभयो। उहाँले सदस्यहरूको अटुट विश्वास, सञ्चालक समितिको समर्पण, कर्मचारीहरूको अथक मेहनत तथा शुभेच्छुकहरूको निरन्तर सहयोगकै कारण संस्थाले निरन्तर प्रगति हासिल गरिरहेको उल्लेख गर्नुभयो।
अध्यक्ष गौतमका अनुसार संस्थाको कुल कारोबार वर्षेनी वृद्धि भइरहेको छ भने सदस्य केन्द्रित सेवाहरू विस्तार हुँदै गएका छन्। सुपथ मूल्य पसलमार्फत सर्वसाधारणलाई सहुलियत दरमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने कार्य सफलतापूर्वक सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो।
संस्थाले नवनिर्मित बहुउद्देश्यीय भवनमार्फत सहकारी सेवा विस्तार गर्नुका साथै स्थानीय उत्पादनको प्याकेजिङ, ब्रान्डिङ तथा बजारीकरण कार्यक्रम अगाडि बढाउने योजना रहेको जनाएको छ।
हाल सहकारी क्षेत्र विभिन्न चुनौतीबाट गुज्रिरहेको अवस्थामा पनि सदस्यहरूको विश्वास, सामूहिक सहभागिता र संस्थाप्रतिको प्रतिबद्धताले श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थालाई अझ सबल, विश्वसनीय र उदाहरणीय सहकारीका रूपमा स्थापित गर्दै लगेको विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो।
यस अवसरमा संस्था स्थापना कालदेखि हालसम्म योगदान पुर्याउने सम्पूर्ण पूर्व अध्यक्ष, सञ्चालक, उपसमितिका पदाधिकारी, कर्मचारी, शेयर सदस्य तथा शुभेच्छुकहरूप्रति संस्थाले हार्दिक आभार तथा सम्मान व्यक्त गरेको छ।














