अर्थ, पावर न्युज एक्सप्रेस, समाचार, सुरक्षा | व्यवसायीलाई पक्राउ गरी मिडिया ट्रायल नगर्न सरकारलाई महासंघको आग्रह

व्यवसायीलाई पक्राउ गरी मिडिया ट्रायल नगर्न सरकारलाई महासंघको आग्रह

व्यवसायीलाई पक्राउ गरी मिडिया ट्रायल नगर्न सरकारलाई महासंघको आग्रह

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले पछिल्ला दिनहरूमा आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी तथा बैंकरहरूलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा निजी क्षेत्र र बैंकिङ क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूलाई फौजदारी अपराधीसरह पक्राउ गर्ने प्रवृत्तिले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना गरेको उल्लेख गरिएको छ।

महासंघका अनुसार सर्वसाधारणको निक्षेपका आधारमा सञ्चालन भएका बैंकका कार्यकारी अधिकृत पक्राउ पर्दा बैंकिङ क्षेत्रको विश्वसनीयतामै असर पर्न सक्ने खतरा बढेको छ। यसले कर्जा प्रवाह, लगानी विस्तार तथा आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्न सक्ने महासंघको भनाइ छ।

विज्ञप्तिमा प्रारम्भिक अनुसन्धानअघि नै व्यवसायीलाई पक्राउ गर्ने र मिडिया ट्रायल गर्ने कार्यले सम्बन्धित व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने उल्लेख गर्दै यस्ता अनुसन्धान गोप्य रूपमा गर्न सरकारसँग आग्रह गरिएको छ।

महासंघले नेपालको संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने व्यवस्थाको स्मरण गराउँदै सरकारलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेको छ। साथै, लगानीकर्ता र निजी क्षेत्रको आत्मविश्वास बढ्ने वातावरण निर्माण गर्न पनि महासंघले सरकारसँग अपिल गरेको छ।

सम्बन्धित खबर

भिडियो