काठमाडौं । नेनेपाली साहित्यका नाट्यसम्राट बालकृष्ण समले करिब एक शताब्दीअघि (१०१ वर्ष पहिले) सिर्जना गरेको ऐतिहासिक गजलले नयाँ जीवन पाएको छ । विश्व कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको संगीत र स्वरबद्ध भई ‘जान लाग्यो नाम जप्ने सास यो’ बोलको उक्त ऐतिहासिक गजलको म्युजिक भिडियो २०८३ असार २८ गते सार्वजनिक गरिएको हो ।

काठमाडौंको मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयमा अनाममण्डलीद्वारा आयोजित एक विशेष समारोहका बीच यो ऐतिहासिक सिर्जनाको लोकार्पण गरिएको हो । वरिष्ठ गीतकार तथा समालोचक प्रा। डा। कृष्णहरि बराल, महाकवि देवकोटाका सुपुत्र प्रा. डा. पद्मप्रसाद देवकोटा र वरिष्ठ चलचित्र निर्देशक मोहन निरौलाले संयुक्त रूपमा गजलको भिडियो सार्वजनिक गर्नुभएको थियो ।
समारोहमा बोल्दै प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बराल तथा अन्य विशिष्ट वक्ताहरूले व्यावसायिक स्वार्थ र बजारमुखी सोचभन्दा माथि उठेर नेपाली साहित्यका अमूल्य ऐतिहासिक निधिलाई पुनर्जीवन दिएको भन्दै संगीतकार श्रेष्ठको प्रयासको उच्च प्रशंसा गर्नुभयो । आजको समयमा पुराना र ओझेलमा परेका शास्त्रीय सिर्जनाहरूलाई खोजेर, तिनको मूल मर्म नमर्ने गरी संगीतबद्ध गर्नु निकै चुनौतीपूर्ण र उदाहरणीय कार्य भएको भन्दै साहित्यिक क्षेत्रबाट प्रशंसाको ओइरो लागेको छ ।
गजललाई न्यायपूर्ण ढंगले संगीत र स्वर दिएर इतिहास ब्यूँताउने यस्तो प्रयासले नेपाली गजलको सांगीतिक अभिलेखीकरणमा ठूलो गुन लगाएको भन्दै श्रेष्ठको चौतर्फी प्रंशसा गरिएको छ। कार्यक्रममा आफ्नो धारणा राख्दै गायक तथा संगीतकार श्रेष्ठले अग्रज स्रष्टाहरूप्रतिको अगाध सम्मान, सांगीतिक दायित्वबोध र नयाँ पुस्तालाई इतिहास बुझाउने उद्देश्यले आफूले यो सिर्जना तयार पारेको बताउनुभयो ।
यो गजल बालकृष्ण समको प्रख्यात कृति ‘मेरो कविताको आराधना उपासना–१’ मा संकलित छ । कार्यक्रममा गजल अभियन्ता तथा समालोचक घनेन्द्र ओझाले सम मुख्यतः नाट्यसम्राटका रूपमा चिनिए पनि आदिगजलकार मोतीराम भट्टपछिको कालखण्डमा नेपाली गजल लेखनमा उनको योगदान अतुलनीय रहेको प्रष्ट पार्नुभयो । समले शीर्षक नदिए पनि यो रचना पूर्ण रूपमा शास्त्रीय गजलको संरचना (बहर) मा आधारित भई कृष्णभक्तिमा केन्द्रित रहेको उहाँको भनाइ थियो ।
गजलका केही सुन्दर हरफहरू यस प्रकार छन्ः
जान लाग्यो नाम जप्ने सास यो,
हे कृष्ण अब त पूरा गर आस यो ।
।जीवनको अन्तिम घडी आइपुग्यो,
प्रभु१ तिम्रै पाउमा मिल्नेछ वास यो ।
यो गजल प्रस्तुति संगीतकार सन्तोष श्रेष्ठ र घनेन्द्र ओझाले अघि सारेको ‘नेपाली गजल गायन स्वर्ण दशक (वि.सं. २०८०–२०९०)’ अभियान अन्तर्गत तयार पारिएको हो । यस अभियानमार्फत नेपाली साहित्यका त्रिमूर्ति— महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समका विरलै चर्चामा रहेका र ओझेलमा परेका गजलहरूलाई संगीतबद्ध गरी नयाँ पुस्तामाझ पुर्याउने ऐतिहासिक कार्य भइरहेको छ ।
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रिएशनको सहकार्यमा सार्वजनिक गरिएको यस गजलको भिडियोलाई ‘गोल्डेन क्रिएशन’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।














