काठमाडौं । साहित्यमा रुचि राख्ने युवाहरूले साहित्यसँगै समाजसेवाको भावना बोकेर “करुवा सिर्जनशील नेपाल” संस्थाको औपचारिक उद्घघाटन गरेका छन्। उद्घघाटनको अवसर काठमाडौंको गोठाटार स्थित सिर्जनशिल बाल सेवा परिवार मा आश्रित बालबालिकालाई स्टेशनरी सामग्री तथा दैनिक जीवनमा आवश्यक पर्ने अत्यावश्यक सामग्री वितरण गरिएको थियो।
कार्यक्रमको संयोजन विजय घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा संस्थाको ११ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ। नवगठित कार्यसमितिमा बिनोद थापा अध्यक्ष, रबिन कोइराला उपाध्यक्ष, अबिरल घिमिरे सचिव, लक्ष्मण बि.क कोषाध्यक्ष तथा ललिता गजमेर सहसचिव चयन हुनुभएको छ। अन्य सदस्यसहित ११ सदस्यीय समिति गठन गरिएको आयोजकले जनाएको छ

कार्यक्रमका संयोजक विजय घिमिरेले साहित्य सिर्जनालाई समाजसेवासँग जोडेर सकारात्मक परिवर्तनका लागि युवाहरूलाई एकताबद्ध गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा साहित्यिक गतिविधिसँगै विभिन्न सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष विनोद थापाले करुवा सिर्जनशील नेपाललाई सिर्जना र सेवाको साझा अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साहित्यिक चेतनाको विकाससँगै समाजका विपन्न तथा आवश्यकतामा रहेका वर्गको सहयोगमा संस्था सक्रिय रहने उहाँको भनाइ थियो।
त्यसैगरी, सिर्जनसिल बाल सेवा परिवारकी सञ्चालक उमा देवी कार्कीले आश्रममा रहेका बालबालिका प्रति देखाइएको सहयोग र आत्मीयताका लागि आयोजक संस्था तथा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो। यस्ता कार्यक्रमले बालबालिकामा उत्साह थप्नुका साथै समाजमा मानवीय भावना विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो।
उक्त कार्यक्रममा आश्रममा आश्रित बालबालिकाले आफ्ना सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्दै कविता वाचन समेत गरेका थिए। बालबालिकाको कविता प्रस्तुतिले कार्यक्रमलाई थप भावुक र प्रेरणादायी बनाएको सहभागीहरूले बताएका छन्।
साहित्य, सिर्जना र समाजसेवालाई एकसाथ अघि बढाउने उद्देश्यका साथ स्थापित करुवा सिर्जनशील नेपालको यो पहिलो कार्यक्रमले युवाहरूको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।














