पावर न्युज एक्सप्रेस, राजनीति, शिक्षा र स्वास्थ्य, समाचार, सुरक्षा, स्थानीय | १२औँ अन्तर्राष्ट्रिय योग दिवस, र यसको घटना क्रम साथै २०८३ को अवसरमा शुभकामना

१२औँ अन्तर्राष्ट्रिय योग दिवस, र यसको घटना क्रम साथै २०८३ को अवसरमा शुभकामना

१२औँ अन्तर्राष्ट्रिय योग दिवस, र यसको घटना क्रम साथै २०८३ को अवसरमा शुभकामना

 

आजभन्दा १२ वर्षअघि तत्कालीन नेपालका सम्माननीय प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला ज्युको प्रस्ताव तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ज्युको समर्थनमा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। त्यसयता विश्वका अधिकांश राष्ट्रहरूले योगलाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीको आधारका रूपमा स्वीकार गर्दै आएका छन्।

योग केवल शारीरिक व्यायाम मात्र होइन, यो शरीर, मन र आत्माको सन्तुलन कायम गर्ने जीवन दर्शन हो। प्राचीन ऋषिमुनिहरूले मानव जीवनलाई स्वस्थ, शान्त र अनुशासित बनाउन विकास गरेको यो ज्ञान आज विश्वभर फैलिएको छ। एक समय योगलाई केही सन्यासी, साधक वा सीमित व्यक्तिहरूको अभ्यासका रूपमा बुझिन्थ्यो। तर वर्तमान समयमा योग हरेक टोल, बस्ती, विद्यालय, कार्यालय तथा घर–घरमा पुग्न सफल भएको छ।

आज बालबालिकादेखि युवा, महिला, कर्मचारी, व्यवसायी तथा ज्येष्ठ नागरिकसम्मले योगलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाएका छन्। बदलिँदो जीवनशैली, बढ्दो मानसिक तनाव, अस्वस्थ खानपान तथा विभिन्न रोगहरूको जोखिम बढिरहेका बेला योगले स्वस्थ जीवनको सरल र प्रभावकारी उपाय प्रदान गरिरहेको छ। योगले शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक शान्ति, आत्मविश्वास, सकारात्मक सोच र सामाजिक सद्भाव समेत अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।

योगका विभिन्न आसन, प्राणायाम तथा ध्यानका अभ्यासहरू आज खेलकुदको रूपमा समेत स्थापित हुँदै गएका छन्। योग खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अभियानअन्तर्गत विश्वकप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यसले योगलाई स्वास्थ्य र अध्यात्मसँग मात्र नभई खेलकुद र प्रतिस्पर्धासँग समेत जोड्न सफल भएको छ।

नेपालमा पनि योगको महत्व दिनप्रतिदिन बढ्दै गएको छ। संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहहरूले नागरिकको स्वास्थ्य प्रवर्द्धन, रोग न्यूनीकरण र स्वस्थ समाज निर्माणका लागि योग क्षेत्रमा लगानी तथा कार्यक्रमहरू विस्तार गरिरहेका छन्। विद्यालय तहदेखि समुदायसम्म योग शिक्षाको पहुँच बढाउने प्रयास भइरहेको छ।

नेपाल योग खेलकुद सङ्घ तथा विभिन्न योग संस्थाहरूको निरन्तर प्रयासबाट राष्ट्रिय योग खेलकुद प्रतियोगिताहरू पटक–पटक सफलतापूर्वक सम्पन्न भएका छन्। यसले नयाँ पुस्तालाई योगप्रति आकर्षित गर्दै स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्‍याइरहेको छ। योगको माध्यमबाट राष्ट्रलाई स्वस्थ, समृद्ध र सकारात्मक दिशामा अगाडि बढाउन सकिने विश्वास अझ बलियो बन्दै गएको छ।

यस १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सम्पूर्ण योगप्रेमी, साधक, प्रशिक्षक, खेलाडी, शुभेच्छुक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। योगलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउँदै स्वस्थ शरीर, शान्त मन र समृद्ध समाज निर्माणमा सबैको सक्रिय सहभागिता रहोस् भन्ने कामना गर्दछु।
“स्वस्थ व्यक्ति, स्वस्थ समाज र स्वस्थ राष्ट्र निर्माणको आधार
लेखक योग शिक्षक यवम अभियन्ता राजन अधिकारी हुन ।

सम्बन्धित खबर

भिडियो