पावर न्युज एक्सप्रेस, समाचार, सुरक्षा | काभ्रेमा लागूऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुभारम्भ

काभ्रेमा लागूऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुभारम्भ

काभ्रेमा लागूऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुभारम्भ

धुलिखेल, काभ्रे । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६, २०२६) को अवसरमा काभ्रे प्रहरीले सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम शुभारम्भ गरेको छ।

“लागूऔषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं” भन्ने मूल नारासहित मिति २०८३ असार ६ गतेदेखि असार १२ गतेसम्म सञ्चालन हुने कार्यक्रम सार्वजनिक सवारीसाधनका चालकहरूको लागू पदार्थ सेवन (ला.पा.से.) परीक्षणबाट औपचारिक रूपमा सुरु गरिएको हो।

कार्यक्रमको शुभारम्भ गर्दै काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन कार्की ले लागूऔषधको समस्या केवल कानुनी विषय मात्र नभई सामाजिक चुनौतीसमेत भएकाले यसको नियन्त्रणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले युवापुस्तालाई लागूऔषधको दुष्चक्रबाट जोगाउन जनचेतना अभिवृद्धि, परिवारको भूमिका तथा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

सप्ताहव्यापी अभियानअन्तर्गत विद्यालय तथा कलेजस्तरीय सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, सार्वजनिक स्थानमा जनचेतना अभियान, चालक तथा सहचालकहरूको परीक्षण, पर्चा वितरण लगायतका गतिविधि सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीका अनुसार लागूऔषधविरुद्धको अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज तथा सरोकारवाला निकायहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ।

काभ्रे प्रहरीले लागूऔषधमुक्त समाज निर्माणका लागि सबै नागरिकलाई सचेत, जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न समेत आग्रह गरेको छ।

सम्बन्धित खबर

भिडियो