समाचार | नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न
17625  पटक हेरिएको

०२ असार २०८३ बनेपा, काभ्रे
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार तथा प्रशासनिक कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्धघाटन सत्रमा प्रतिष्ठानका सहायक कलेज प्रमुख नवराज चौलागाईंले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै व्यावसायिक तथा व्यावहारिक शिक्षाको महत्वमाथि प्रकाश पार्दै वर्तमान प्रतिस्पर्धी युगमा आत्मनिर्भर र दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक मार्गदर्शन र अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ज्ञानकुञ्जले केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेको बताए । उनले विद्यार्थीहरूलाई आफ्नो क्षमता र सम्भावनाको अधिकतम उपयोग गर्दै जिम्मेवार, नैतिक तथा सक्षम नागरिक बन्न प्रेरित गरे ।

त्यसैगरी, सहायक प्रिन्सिपल नमराज दाहालले नैतिक शिक्षाको अपरिहार्यतामाथि जोड दिँदै वर्तमान शिक्षा प्रणालीमा मूल्य र मान्यताहरूको संरक्षण आवश्यक रहेको धारणा व्यक्त गरे । उनले ज्ञानकुञ्जले विद्यार्थीहरूमा नैतिकता, सामाजिक उत्तरदायित्व तथा सकारात्मक सोचको विकासका लागि विशेष पहल गर्दै आएको बताए । कार्यक्रममा कलाकर्मी भूषण भोमी श्रेष्ठ, कलाकर्मी तथा संचारकर्मी सचित खड्का र अन्तराष्ट्रिय भलिबल रेफ्रि विजय के.सी.लाई सम्मान गरिएको थियो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा हास्य कलाकार जितु नेपाल को प्रस्तुति रहेको थियो। उनले हास्यव्यङ्ग्यमार्फत शिक्षा, जीवनशैली तथा सामाजिक मूल्यसँग सम्बन्धित सन्देश प्रस्तुत गरेका थिए । सहभागी विद्यार्थी तथा अभिभावकहरूले उक्त प्रस्तुति मनोरञ्जनात्मकसँगै सन्देशमूलक रहेको प्रतिक्रिया दिएका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सुरकृष्ण वैद्यले शिक्षा प्रणालीलाई केवल परीक्षा र प्रमाणपत्रमा सीमित नराखी विद्यार्थीहरूको सृजनशीलता, नेतृत्व क्षमता तथा जीवनोपयोगी सीप विकासमा केन्द्रित गरिनुपर्ने धारणा व्यक्त गरे। उनले ज्ञानकुञ्जलाई विद्यार्थीहरूको बहुआयामिक विकासका लागि उपयुक्त शैक्षिक मञ्चका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्याए ।

कार्यक्रममा विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको थियो, जसले सहभागी विद्यार्थीहरूमा उत्साह, आत्मविश्वास र सकारात्मक ऊर्जा थपेको आयोजकले जनाएको छ । प्रतिष्ठानका अनुसार अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य नवआगन्तुक विद्यार्थीहरूलाई शैक्षिक वातावरण, संस्थागत कार्यशैली, नीति तथा मूल्य–मान्यतासँग परिचित गराउनु रहेको थियो । कार्यक्रममार्फत विद्यार्थीहरूमा अध्ययनप्रति थप जागरुकता र संस्थाप्रति विश्वास अभिवृद्धि भएको विश्वास प्रतिष्ठानले व्यक्त गरेको छ ।

साथै प्रतिष्ठानले आगामी दिनमा पनि विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखी यस्ता प्रभावकारी तथा प्रेरणामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित खबर

भिडियो