शिक्षा र स्वास्थ्य, समाचार | भविष्य निर्माणका लागि विद्यार्थीलाई उत्प्रेरणा, सिद्धार्थ स्कुलमा भव्य अभिमुखीकरण

भविष्य निर्माणका लागि विद्यार्थीलाई उत्प्रेरणा, सिद्धार्थ स्कुलमा भव्य अभिमुखीकरण

भविष्य निर्माणका लागि विद्यार्थीलाई उत्प्रेरणा, सिद्धार्थ स्कुलमा भव्य अभिमुखीकरण
14315  पटक हेरिएको

बनेपा । सिद्धार्थ स्कुल तथा कलेज, बनेपाले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत, अभिमुखीकरण तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेको छ। कक्षा ११ को नियमित पठनपाठन सुरु हुन लागेका बेला आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई नयाँ शैक्षिक यात्राका लागि प्रेरित र तयार पार्ने प्रयास गरिएको थियो।

कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक तथा सरोकारवालाहरूले विद्यार्थी जीवनको महत्व, जिम्मेवारी, अवसर र चुनौतीका विषयमा प्रकाश पार्दै सफल भविष्य निर्माणका लागि निरन्तर मेहनत, अनुशासन र सकारात्मक सोच आवश्यक रहेको बताएका थिए। वक्ताहरूले वर्तमान विश्व परिवेश, प्रविधिको तीव्र विकास तथा बदलिँदो शैक्षिक वातावरणमा आफूलाई सक्षम र प्रतिस्पर्धी बनाउन विद्यार्थीहरूलाई आग्रह गरेका थिए।

विद्यालयका संस्थापक प्रिन्सिपल ज्ञानबहादुर केसीले सिद्धार्थ स्कुलले स्थापना कालदेखि नै संख्याभन्दा गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको उल्लेख गरे। उनले विद्यालयको वास्तविक सम्पत्ति भनेकै वर्षौंदेखि हासिल गर्दै आएको उत्कृष्ट शैक्षिक नतिजा र उपलब्धि भएको बताउँदै व्यवहारिक, नैतिक तथा जीवनोपयोगी शिक्षामार्फत सक्षम नागरिक तयार गर्नु संस्थाको प्रमुख लक्ष्य रहेको धारणा राखे।

विद्यालयका प्रिन्सिपल गुञ्जप्रसाद लुईटेलले विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई अझ प्रभावकारी बनाउन विद्यालयले शैक्षिक कार्यक्रमसँगै विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको जानकारी दिए। उनले विद्यार्थीको क्षमता विकास, नेतृत्व अभिवृद्धि र व्यक्तित्व निर्माणमा विद्यालय विशेष रूपमा केन्द्रित रहेको बताए।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय शिक्षा संकायका सहायक डिन प्रा.डा. खगेन्द्र आचार्य र शिक्षाविद् डा. चन्द्रप्रसाद लुईटेल प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए। उनीहरूले विद्यार्थीहरूलाई भविष्यप्रति स्पष्ट लक्ष्य निर्धारण गर्न, प्रविधिको सकारात्मक उपयोग गर्न तथा नैतिक मूल्य र संस्कारलाई जीवनको आधार बनाउन सुझाव दिएका थिए। साथै शिक्षित र जिम्मेवार नागरिकका रूपमा राष्ट्र निर्माणमा योगदान पुर्‍याउन पनि प्रेरित गरेका थिए।

कार्यक्रममा प्याब्सनका उपमहासचिव भीमसेन केसी, सचिवालय सदस्य हिरा शर्मा नेपाल, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, सचिव विमल न्यौपाने, नगर अध्यक्ष महेन्द्र विष्ट, सिद्धार्थ कलेजका क्याम्पस प्रमुख पुकार कारञ्जित, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना तथा अभिभावक रामचन्द्र भट्टराईलगायतले शुभकामना तथा उत्प्रेरणामूलक मन्तव्य व्यक्त गरेका थिए।

विद्यालयका शिक्षक सुधिर न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा प्याब्सन काभ्रेका वरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, उपाध्यक्ष बसन्तराज नेपाल, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित खबर

भिडियो