खेलकुद, समाचार | आजदेखि काभा महिला भलिबल च्याम्पियनसिप

आजदेखि काभा महिला भलिबल च्याम्पियनसिप

आजदेखि काभा महिला भलिबल च्याम्पियनसिप
13896  पटक हेरिएको

काभा महिला भलिबल च्याम्पियनसिप आज (शुक्रबार) देखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित मध्य एसियाका आठ टोली सहभागी छन् ।

च्याम्पियनसिपमा सेन्ट्रल एसियाका नेपालसहित इरान, किर्गिस्तान, भारत, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स र कजाकिस्तान गरी आठ देशको सहभागिता रहने छ ।

प्रतियोगिताको पहिलो दिन उद्घाटन समारोहसहित तीन खेल हुनेछन् । घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा छिमेकी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

दिनको पहिलो खेलमा समूह ‘बी’ का इरान र बंगलादेश बिहान ११ बजे आमनेसामने हुनेछन् । नेपाल भलिबल संघका अनुसार दिउँसो २ बजे उद्घाटन समारोह आयोजना गरिनेछ । त्यसपछि दिउँसो ३ः३० बजे समूह ‘ए’ अन्तर्गत नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

दिनको तेस्रो खेलमा समूह ‘ए’ कै किर्गिस्तान र माल्दिभ्स साँझ ६ बजे भिड्नेछन् । प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स रहेका छन् भने समूह ‘बी’ मा इरान, काजाखस्तान, श्रीलंका र बंगलादेश सहभागी छन् ।

सुरुवाती चार दिन समूह चरणका खेल सञ्चालन हुनेछन् । प्रत्येक दिन तीन(तीन खेल खेलाइनेछ । समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीले स्थान निर्धारण (क्लासिफिकेसन) खेल खेल्नेछन् ।

पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता आमनेसामने हुनेछन् । सेमिफाइनल विजेता टोलीले जेठ १५ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि समूह ‘ए’ को तेस्रो र समूह ‘बी’ को चौथो तथा समूह ‘बी’ को तेस्रो र समूह ‘ए’ को चौथो टोलीबीच पनि खेल हुनेछ । ती खेलका विजेता र पराजित टोलीबीच थप स्थान निर्धारण खेल आयोजना गरिनेछ ।

समूह चरणदेखि फाइनलसम्म प्रतियोगितामा कुल २० खेल हुनेछन् । प्रतियोगिताको विजेता टोलीले एसिया कपका लागि छनोट हुने अवसर प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ ।

च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भइसकेको छ । मुख्य प्रशिक्षकमा जगदीश भट्टले बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्ये प्रदर्शनका आधारमा निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो ।

टोलीमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद, एलिशा मानन्धर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुवँर, मिना सुनार, प्रगति नाथ र जशना महतो हुनुहुन्छ ।

यसैबीच, आज ‘नेसनल भलिबल डे’ पनि मनाइँदै छ। नेपाल सरकारले २०७४ सालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि नेपाल भलिबल संघले हरेक वर्ष जेठ ८ गते राष्ट्रिय भलिबल दिवस मनाउँदै आएको छ ।

सम्बन्धित खबर

भिडियो