काठमाडौं । संयुक्त अरब इमिरेट्स विदेश मन्त्रालय ले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्यांकरमाथि आक्रमण भएको पुष्टि गरेको छ । फुजैराह तेल बन्दरगाह मा भएको उक्त आक्रमणपछि ठूलो आगलागी भएको र कम्तीमा तीन जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
यूएईका अनुसार आक्रमणका क्रममा १२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, तीन वटा क्रुज मिसाइल र चार वटा ड्रोन प्रहार गरिए पनि अधिकांशलाई हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय बनाएको थियो । घटनापछि यूएईले यसलाई ‘खतरनाक’ भन्दै आवश्यक परे कडा प्रतिक्रिया दिने अधिकार सुरक्षित राखेको जनाएको छ ।

यस आक्रमणमा इरान को संलग्नता हुनसक्ने आशंका गरिएको छ। तर इरानी सरकारी सञ्चारमाध्यममार्फत एक सैनिक अधिकृतले यूएईलाई निशाना बनाउने कुनै योजना नभएको दाबी गरेका छन् । घटनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै प्रतिव्यारेल ११५ डलर नाघेको छ, जुन एकै दिनमा पाँच प्रतिशतभन्दा बढी वृद्धि हो ।
रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुज नजिकै रहेको फुजैराह बन्दरगाह यूएईको वैकल्पिक निर्यात मार्गका रूपमा चिनिन्छ । अबुधाबीका तेल क्षेत्रबाट पाइपलाइनमार्फत यहाँ तेल ल्याइने भएकाले उक्त जलमार्ग अवरुद्ध भए पनि केही मात्रामा निर्यात सम्भव हुने गर्दछ ।
यसैबीच दक्षिण कोरिया ले यूएई नजिकै रोकिएको आफ्नो एक जहाजमा विस्फोट भएको जनाएको छ भने ओमान को बुखा क्षेत्रमा आवासीय भवनमा आक्रमण हुँदा दुई जना घाइते भएका छन् ।
छिमेकी कतार ले घटनाको कडा निन्दा गर्दै अन्तर्राष्ट्रिय जलमार्ग बिना अवरोध सञ्चालन हुनुपर्ने माग गरेको छ । उता डोनाल्ड ट्रम्प ले स्ट्रेट अफ होर्मुजमा अलपत्र जहाजहरू उद्धार गर्न ‘प्रोजेक्ट फ्रिडम’ अभियान अघि बढाउने बताएका छन् । त्यसको भोलिपल्ट अमेरिका ले इरानी साना डुंगामाथि आक्रमण गरेको जनाइएको छ, जसबाट एक अमेरिकी झण्डावाल जहाज सुरक्षित बाहिर निकालिएको बताइएको छ ।
ट्रम्पले विश्वका देशहरूलाई आफ्ना ‘निष्पक्ष र निर्दोष’ जहाजहरूको सुरक्षाका लागि सहयोग गर्न आग्रह गर्दै अवरोध भए बल प्रयोग गर्ने चेतावनीसमेत दिएका छन् ।














