काठमाडौं,
चैत २७ ।
‘मिस नेपाल नर्थ अमेरिका २०२६’ प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलले बिहीबारदेखि आवेदन खुला गरिएको जानकारी दिएको हो ।

आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार प्रतियोगिताको आठौं संस्करणसम्म न्यूयोर्कमा हुँदै आएको ग्राण्ड फिनाले यसवर्ष भने वासिंटन डीसीमा आयोजना गरिनेछ । उहाँका अनुसार नेपाली इभेन्ट व्यवस्थापनमा अनुभवी चन्द्र लामाको कम्पनी युएसए इन्टरटेन्मेन्टले स्थानीय होस्टका रूपमा सहकार्य गर्नुहुनेछ ।
श्रेष्ठले फिनालेको स्थान परिवर्तनसँगै यसवर्षको कार्यक्रम विगतका संस्करणभन्दा फरक, भव्य र आकर्षक हुने दाबी गर्नुभयो । उहाँले नेपाली सिने क्षेत्रसहित विभिन्न क्षेत्रका चर्चित सेलिब्रेटीहरूको उल्लेखनीय उपस्थिति रहने जानकारी दिनुभयो ।
प्रतियोगिताको ग्राण्ड फिनाले जुलाई २५ (साउन ९) गते हुने तय गरिएको छ । प्रतियोगितामा अमेरिका र क्यानडामा बसोबास गर्ने १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाहरूले सहभागिता जनाउन सक्नेछन् ।
सहभागिताका लागि न्यूनतम शैक्षिक योग्यता उच्च माध्यमिक (प्लस टु)वा सोसरह हुनुपर्ने तथा उचाइ कम्तीमा पाँच फिट एक इन्च हुनुपर्ने मापदण्ड तोकिएको छ । ‘नेपाली महिलालाई सशक्त बनाउँदै, आगामी पुस्तालाई सशक्त बनाउने’ भन्ने नारासहित यस वर्षको प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ ।














