समाचार

नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन

नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन
2293  पटक हेरिएको

काठमाडौं,
चैत २८ ।

नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंमा आयोजित सम्मेलनका प्रमुख अतिथि प्रा.डा.वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ प्राज्ञलाई सम्मेलनको प्रतीक चिह्न र सम्मेलनबारेका कृतिहरू प्रदान गरेर सम्मेलन सुरु गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली भाषासाहित्यको विकास र विस्तारबारे अध्ययन हुन बाँकी पक्षहरूका साथै उच्चशिक्षाका कतिपय अनिर्णीत रहेका सवालहरूको परिपूर्तिका निम्ति नइले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को आयोजना गर्नुपरेको नइ एकेडेमीका इन्दिरा प्रसाईले जानकारी गराउनुभयो ।

सम्मेलनमा उच्च शिक्षामा नेपाली भाषासाहित्यको अध्यापन तथा अनुसन्धान गरिने भारतका १३ वटा विश्वविद्यालय र नेपालका ६ वटा विश्वविद्यालयका दस्तावेज प्रस्तुत गरिने छन् ।

सम्मेलनको पहिलो दिन सहभागी प्राज्ञहरूले आआफ्ना विश्वविद्यालयबारे चर्चा गरेको एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी गराउनुभयो ।

प्रथम दिनको समारोहमा प्रा.डा. त्रिपाठीसहित प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा.दिवाकर प्रधान, प्रा.डा.कविता लामा, सल्लाहकार प्रा.केशव सुवेदी, सम्मेलनका संयोजक प्रा.डा.महादेव अवस्थी, सदस्यसचिव नरेन्द्रराज प्रसाईलगायत नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने २५ प्रतिनिधि प्राज्ञहरूले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित खबर

भिडियो