काभ्रे, साउन ९ । ज्योति एकेडेमी र एभरेष्ट एकेडेमीले ज्ञानवृक्ष पब्लिकेशन प्रालिको सहकार्यमा कक्षा १ देखि ५ सम्मका शिक्षकहरूका लागि विद्यार्थी पोर्टफोलियो तथा निरन्तर मूल्याङ्कन प्रणाली (सीएएस) सम्बन्धी एकीकृत शिक्षक तालिम सञ्चालन गरेका छन्।

तालिममा विद्यार्थी पोर्टफोलियो व्यवस्थापन, निरन्तर मूल्याङ्कन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा गुणस्तरीय कक्षाकोठा शिक्षणका विषयमा शिक्षकहरूको ज्ञान र व्यावहारिक सीप अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रममा विद्यार्थीको सिकाइ उपलब्धिको अभिलेखीकरण, मूल्याङ्कनका विभिन्न विधि, सिकाइ सुधारका उपाय तथा बालबालिकाको समग्र विकासमा निरन्तर मूल्याङ्कन प्रणालीको महत्वबारे प्रशिक्षण दिइएको थियो।
आयोजकका अनुसार शिक्षकहरूको निरन्तर पेशागत विकासमा लगानी गर्दै शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो। यसबाट शिक्षकहरूले विद्यार्थीको प्रगति नियमित रूपमा मूल्याङ्कन गरी आवश्यक सहयोग प्रदान गर्न सक्ने क्षमता विकास हुने अपेक्षा गरिएको छ।
विद्यालयहरूले यस्ता तालिमले शिक्षण सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउने, विद्यार्थीका लागि आकर्षक सिकाइ वातावरण निर्माण गर्ने तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
तालिममा सहभागी शिक्षकहरूले प्राप्त ज्ञान र सीपलाई कक्षाकोठामा प्रयोग गरी विद्यार्थीको सिकाइ उपलब्धि तथा समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन्।
शिक्षामा उत्कृष्टता हासिल गर्ने साझा उद्देश्यका साथ ज्योति एकेडेमी, एभरेष्ट एकेडेमी र ज्ञानवृक्ष पब्लिकेशनले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन्।














