काठमाडौं – वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठले आफ्नो जीवनको पीडा, संघर्ष र समर्पणलाई हृदयस्पर्शी रूपमा फेसबुकमा व्यक्त गरेका छन् ।
उनको पोस्ट पढ्दा पत्रकारिताको क्षेत्रमा इमान्दारीको मूल्य कति ठूलो छ भन्ने भावुक अनुभूति हुन्छ ।

“मैले खुट्टामा बन्चरो हानें कि उभिएको प्रत्येक ठाउँलाई आफ्नो मानें थाहा छैन,” श्रेष्ठले लेखेका छन्, “निष्पक्ष मनहरुले, आउँदो पुस्ताले रेशा रेशा केलाएर भन्ला ।”
मनदेखि नै काम गरेको, गहिराइसम्म डुबेर मेहनत गरेको तर कहिल्यै टापटिपे वा कामचोर बन्न नसकेको उनको स्वीकारोक्ति छ । सबैलाई समान विश्वास गर्दा बारम्बार धोका खाएको पीडादायी यथार्थ उनले खुलस्त पारेका छन् । “जानेर अरुको दिल दुखाइन, मनकारीहरूसामु पीडा लुकाइन,” उनले भावुक हुँदै लेखेका छन् ।
थुप्रै पटक भँगालोमा हेलिने दुस्साहस गरेको, अनेक धरापमा परेको, आफ्नाहरू पराई बनेको र अप्ठ्यारोमा साथ दिनेहरू डराएर भागेको उनको अनुभव निकै मार्मिक छ । “सजिलोमा त सबै शेर बन्छन् – अप्ठेरोमा स्याल बनेर लुसुक्क छेउ लागिन, ‘दादा’हरूसँग डराएर भागिन,” उनले लेखेका छन् ।
तर आफूसँग सम्पर्कमा आएकाहरूलाई कहिल्यै टाढिनुपरे पनि ‘मरी जाओस्’ भन्ने ठाउँ नदिएको उनको भनाइले उनको चरित्रको उज्ज्वल पक्ष देखाउँछ । बाहिरबाट त्रासदीपूर्ण लागे पनि भित्रबाट उनी संवेदनशील र इमान्दार रहेको स्पष्ट हुन्छ ।
जीवनप्रति गुनासो नगरी सन्तुष्टि व्यक्त गर्दै श्रेष्ठले भनेका छन्, “यो जीवन, आजको भोगाइप्रति कुनै गुनासो पनि छैन । जतिन्जेल बाँचुँला, द्वैध चरित्र र गैरपेशागत आचरण देखाउने छैन ।”
अहिले जे अवस्थामा छन् त्यसैमा सन्तुष्ट रहेको बताउँदै उनले ठूलो महत्वाकांक्षा नराख्ने, आफू रित्तिएर अरूलाई बनाउन सकिन्छ भने त्यो अवसर लिने तर राष्ट्रिय हितविपरीत कहिल्यै नचल्ने अडान दोहोर्याएका छन् । चित्त नबुझेका कुरा प्रष्ट बोल्ने, लोलोपोतो नघस्ने, शरीरले साथ दिएसम्म खट्ने र प्रलोभनमा नफस्ने उनको प्रतिबद्धता निकै प्रेरणादायी छ ।
“म जे हुँ त्यही रुपमा चिनिदिए पुग्छ,” उनले भावुक हुँदै लेखेका छन्, “झूठो प्रशंसा माग्दिनँ – ध्वंसात्मक गाली पनि सुन्नुपर्छ जिन्दगीमा तर स्वच्छ आलोचनादेखि भाग्दिन ।”
आफ्नो जीवनको सानो र निर्मम समीक्षा गर्दै उनले सबै स्रद्धेय व्यक्तित्वहरूबाट मार्गनिर्देशनको अपेक्षा गरेका छन्।
विश्व प्रेस काउन्सिलका उपाध्यक्ष समेत रहेका श्रेष्ठको यो भावुक स्ट्याट्सले धेरैलाई आफ्नो जीवनको समीक्षा गर्न प्रेरित गरेको छ । इमान्दारीको बाटो कति चुनौतीपूर्ण तर सम्मानजनक हुन्छ भन्ने सन्देश उनको पोस्टले दिएको छ ।














