काठमाडौं – फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा अर्जेन्टिनासँग ३–२ ले पराजित भएपछि इजिप्टले रेफ्री र भीएआरको निर्णयमाथि गम्भीर प्रश्न उठाएको छ। खेल सकिन ११ मिनेट बाँकी रहँदासम्म इजिप्ट २–० ले अघि थियो, तर अर्जेन्टिनाले लगातार तीन गोल गर्दै क्वार्टरफाइनलमा स्थान बनायो।
विवादको केन्द्रमा इजिप्टका मोस्तफा जिकोले गरेको गोल रह्यो, जसलाई भीएआरले त्यसअघि भएको फाउल देखाउँदै रद्द गर्यो। त्यसपछि २–२ को अवस्थामा मोहम्मद सालाह पेनाल्टी क्षेत्रमा लडाइँदा पनि रेफ्रीले पेनाल्टी नदिएको भन्दै इजिप्टले आपत्ति जनाएको छ। केही क्षणपछि अर्जेन्टिनाले काउन्टर अट्याकबाट निर्णायक गोल गर्यो।

खेलपछि प्रशिक्षक होसाम हसानले टोलीमाथि अन्याय भएको आरोप लगाउँदै विश्व च्याम्पियन अर्जेन्टिना र लियोनेल मेसीलाई प्रतियोगितामा अघि बढाउन रेफ्रीका निर्णय प्रभावित भएको दाबी गरे। विरोध जनाउने क्रममा उनले हात क्रस गरेर संकेत देखाएपछि पहेँलो कार्ड पाए भने टोलीका एक सदस्यलाई रातो कार्ड दिइयो।
हारपछि कप्तान मोहम्मद सालाह भावुक बनेर मैदान छाडे। फुटबल विश्लेषक डेल जोन्सनले पनि इजिप्टको गोल रद्द गर्ने तथा सालाहमाथिको सम्भावित फाउलमा फरक मापदण्ड अपनाइएको भन्दै निर्णयको एकरूपतामाथि प्रश्न उठाएका छन्।












