धुलिखेल, असार ११ — काठमाडौं विश्वविद्यालय सिभिल इन्जिनियरिङ क्लबद्वारा काठमाडौं विश्वविद्यालय, धुलिखेलमा आयोजित वार्षिक कार्यक्रम ‘संकल्प–२६’ अन्तर्गत सम्पन्न विज्ञान प्रदर्शनी प्रतियोगितामा ज्ञानज्योति इङ्ग्लिस सेकेन्डरी स्कुल ले प्रथम स्थान हासिल गरेको छ।

विद्यालयका विद्यार्थीहरू सजना श्रेष्ठ, ऋषिका श्रेष्ठ, रिजन भुजेल, सबन तोलाङ्गे, अनिता तामाङ र एन्नी मानन्धर ले “Integrated Water Management System: Rainwater Harvesting, sewage treatment and Water Reuse” शीर्षकको परियोजना प्रस्तुत गर्दै उक्त सफलता हासिल गरेका हुन्। परियोजनाले वर्षाको पानी संकलन, भण्डारण तथा पुनः प्रयोगमार्फत जलस्रोतको दिगो व्यवस्थापन र पानी संरक्षणको व्यावहारिक उपाय प्रस्तुत गरेको थियो।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित परियोजनाहरू प्रदर्शन गरेका थिए। सहभागी परियोजनाहरूको मूल्याङ्कन वैज्ञानिक अवधारणा, नवप्रवर्तन, व्यावहारिक उपयोगिता, वातावरणीय प्रभाव तथा प्रस्तुतीकरणका आधारमा गरिएको आयोजकले जनाएको छ।
ज्ञानज्योति इङ्ग्लिस सेकेन्डरीका विद्यार्थीहरूको अनुसन्धानमूलक सोच, सिर्जनशीलता र दिगो विकासप्रतिको प्रतिबद्धता झल्काउने उक्त परियोजनाले निर्णायकहरूको उच्च प्रशंसा प्राप्त गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो।
परियोजनाका टोली सदस्यहरूलाई विद्यालयकी मार्गदर्शक शिक्षिका बबिता बुद्धाचार्य ले निर्देशन तथा सहजीकरण गर्नुभएको थियो। उहाँको मार्गदर्शनमा विद्यार्थीहरूले तयार पारेको परियोजनाले पानी व्यवस्थापनसम्बन्धी वर्तमान चुनौतीहरूको व्यवहारिक समाधान प्रस्तुत गरेको बताइएको छ।
यस उपलब्धिप्रति विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले खुसी व्यक्त गरेका छन्। विद्यालयले यस सफलताले विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धान तथा नवप्रवर्तनप्रति थप उत्साह जगाउने विश्वास व्यक्त गरेको छ।
काठमाडौं विश्वविद्यालय सिभिल इन्जिनियरिङ क्लबद्वारा आयोजित ‘संकल्प–२६’ कार्यक्रमले विद्यार्थीहरूमा विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।














