पावर न्युज एक्सप्रेस, शिक्षा र स्वास्थ्य, समाचार, स्थानीय | ७ महिनामै जन्मिएका जुम्ल्याहा शिशुको जीवन बच्यो : सहयोग र सेवाभावको प्रेरणादायी उदाहरण

७ महिनामै जन्मिएका जुम्ल्याहा शिशुको जीवन बच्यो : सहयोग र सेवाभावको प्रेरणादायी उदाहरण

७ महिनामै जन्मिएका जुम्ल्याहा शिशुको जीवन बच्यो : सहयोग र सेवाभावको प्रेरणादायी उदाहरण

नमोबुद्ध, काभ्रे। नमोबुद्ध नगरपालिका–५ निवासी निर्मल परियार र शान्ति नेपालीको परिवारमा खुसी फर्किएको छ। गर्भावस्थाको केवल ७ महिनामै जन्मिएका जुम्ल्याहा बाबुहरूको उपचार आर्थिक अभावका कारण अन्योलमा परेका बेला विभिन्न पक्षको सहयोगले उनीहरूको जीवन बचाउन सफल भएको हो।

अत्यन्तै संवेदनशील अवस्थामा जन्मिएका दुवै शिशुलाई तत्काल सघन उपचार आवश्यक थियो। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारको खर्च जुटाउन कठिनाइ भइरहेको अवस्थामा आर्शु स्मृति प्रतिष्ठान नेपालले मानवीय पहल गर्दै धुलिखेल अस्पतालसँग समन्वय गरेको थियो।

प्रतिष्ठानको सिफारिस तथा धुलिखेल अस्पतालको सहयोगमा दुवै शिशुले निःशुल्क औषधि तथा उपचार सेवा प्राप्त गरेका थिए। उपचारका क्रममा एक शिशुले १६ दिन र अर्काे शिशुले २६ दिनसम्म सघन उपचार कक्ष (ICU) मा बसेर उपचार गराएका थिए।

चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको निरन्तर निगरानी, उपचार र परिवारको धैर्यतापूर्ण प्रयासका कारण दुवै शिशुको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। हाल उनीहरू आमाबुबासँग अस्पतालको वार्डमा रहेका छन् र केही दिनभित्रै घर फर्किने तयारीमा छन्।

शिशुहरूको स्वास्थ्य अवस्थामा आएको सकारात्मक परिवर्तनले परिवारमा नयाँ आशा र खुसी ल्याएको छ। यो घटनाले समयमै गरिएको सहयोग, सेवाभाव र मानवीय संवेदनशीलताले कसैको जीवनमा कति ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश समेत दिएको छ।

परिवारले धुलिखेल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, आर्शु स्मृति प्रतिष्ठान नेपालका सदस्यहरू तथा सहयोगी सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

मानवता र सहयोगको यो उदाहरणले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। सानो सहयोगले पनि कसैको जीवनमा नयाँ आशा, भरोसा र खुसी ल्याउन सक्ने तथ्यलाई यस घटनाले पुनः पुष्टि गरेको छ।

सम्बन्धित खबर

भिडियो