पावर न्युज एक्सप्रेस, राजनीति, शिक्षा र स्वास्थ्य, समाचार | गाउँ सभामा प्रश्न को वर्षा

गाउँ सभामा प्रश्न को वर्षा

गाउँ सभामा प्रश्न को वर्षा

 

​खानीखोला, काभ्रेपलाञ्चोक ।
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको १९ औँ गाउँसभामा जनप्रतिनिधिहरूले कार्यपालिका र नेतृत्वको कार्यशैलीप्रति तीव्र आक्रोश र असन्तुष्टि व्यक्त गरेका छन् । सभामा सुशासन, पारदर्शीता र सेवा प्रवाहको अवस्था फितलो भएको भन्दै आफ्नै दल र विपक्षी दलका सदस्यहरूले गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) माथि प्रश्नको वर्षा गरेका हुन् ।

​प्रशासकीय अधिकृत किन फेरेको फेर्यै ?
​गाउँसभामा नेकपा एमालेबाट निर्वाचित वडा नं. ७ का वडाध्यक्ष राम मुक्तानले पालिकाको प्रशासनिक अस्थिरतामाथि गम्भीर प्रश्न उठाउनुभयो । “यहाँ प्रमुख प्रशासकीय अधिकृत किन फेरेको फेर्यै गरियो ? किन कोही पनि ३ महिना टिक्दैनन् र कोही बाटोबाटै किन फर्किए वा फर्काइए ?” मोक्तानले प्रश्न गर्नुभयो, “इन्जिनियर जीवन राज अर्याललाई प्रमुख प्रशासकीय अधिकृत बनाएर राख्दा चाहिँ उहाँ कसरी टिकिरहनुभएको छ ? जादु के छ ?

सुशासन कुन चरीको नाम हो ?
​यस्तै, तत्कालिन माओवादी (हाल नेकपा) का तर्फबाट निर्वाचित कार्यपालिका सदस्य खड्ग बहादुर विकले गाउँपालिका सरकारप्रति आगो ओकल्नुभयो । आजसम्म कार्यपालिका सदस्यले मञ्चमा उभिएर बोल्ने अवसर समेत नपाएको भन्दै उहाँले आक्रोश पोख्नुभयो । विकले भन्नुभयो, “यहाँ सुशासन र सेवा प्रवाह भनेको कुन चरीको नाम हो ? खानीखोलामा विगत ४ वर्षदेखि अत्यधिक दायित्व भुक्तानीमा राखिएको छ, आइन्दा यो ‘दायित्व’ भन्ने शब्द देख्न र सुन्न नपरोस् ।”

​सरकारी सवारी साधनको दुरुपयोग र रातो प्लेटको रजगाँई:
अर्का ​गाउँसभा सदस्य देवान सिं लोप्चनले पालिकामा सवारी साधनको चरम दुरुपयोग भएको दाबी गर्नुभयो । जनप्रतिनिधि र कर्मचारीहरू सरकारी मोटरसाइकलमा रातो प्लेट हालेर हिँड्ने गरेको र जनप्रतिनिधि बाहेकका व्यक्तिहरूले पनि सरकारी बाइक चढिरहेको उहाँको आरोप थियो । लोप्चनले आक्रोश व्यक्त गर्दै भन्नुभयो, “सरकारी बाइक कहाँ, कसको साथमा छ ? यसको तत्काल लिष्ट तयार पारियोस् ।”

​नीति एकातिर, व्यवहार अर्कातिर
​त्यसैगरी, अर्का सदस्य रोहन रुम्बाले पालिकाले वडालाई बजेटको सिलिङ नै नदिई गाउँसभा गरिरहेको भन्दै सभाको औपचारिकता र पारदर्शीतामाथि नै शंका व्यक्त गर्नुभयो ।

त्यसै गरि ​महिला गाउँसभा सदस्य बिन्दा आचार्यले गत वर्षको नीति तथा कार्यक्रममा समेटिएको “सुत्केरी महिलालाई झण्डा र अण्डा” दिने कार्यक्रम कार्यान्वयन नभएको भन्दै आक्रोश पोख्नुभयो । उहाँले पालिकाको नीति र कार्यक्रम एकातिर तथा व्यवहार अर्कैतिर भएको गुनासो गर्नुभयो ।

​अर्का सदस्य प्रेम गुरुङले वडा नं. ४ का अध्यक्ष निशान मोक्तान र गाउँपालिका अध्यक्षलाई इङ्गित गर्दै जगथली र आँपटारमा ‘एक घर एक धारा’ हुँदैमा गिर्दिमका जनता खुसी हुनुपर्ने हो भन्दै असन्तुष्टि जनाउनुभयो ।

​२०८४ मा फेरि दोहोरिने अध्यक्षको सङ्केत:
​जनप्रतिनिधिहरूले चौतर्फी घेरेपछि जवाफ दिने क्रममा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) ले आफ्नो ४ वर्षे कार्यकाल सफल भएको दाबी गर्नुभयो । “आफ्नो कार्यकाल सफल भएको विपक्षीलाई मन नपरेर के गर्नु त ?” अध्यक्ष थिङले भन्नुभयो ।
​गाउँसभामा उठेको आर्थिक प्रश्नमा बचाउ गर्दै उहाँले घाटा बजेट र दायित्व रहनु स्वाभाविक भएको टिप्पणी गर्नुभयो ।
​त्यस क्रममा अध्यक्ष थिङले आगामी २०८४ को स्थानीय तह निर्वाचनमा आफू पुनः अध्यक्षमा दोहोरिने स्पष्ट सङ्केत समेत दिनुभयो । छिमेकी पालिकाको उदाहरण दिँदै उहाँले भन्नुभयो, “महाभारत गाउँपालिकामा अध्यक्ष कान्छालाल जिम्बा र वागमतीमा सर्केश घलानले राम्रो काम गरेको सबैले सुनिरहेकै छौँ । उहाँहरूले २ कार्यकाल चलाएकाले नै त्यस्तो राम्रो भएको हो । यसको मतलब मलाई फेरि अध्यक्षमा जिताइदिनुस् भन्न खोजेको त होइन, तर १० वर्ष एउटै व्यक्तिले नेतृत्व चलाएको राम्रो हुन्छ ।”

​आफ्नै दलका जनप्रतिनिधि बढी असन्तुष्ट:
​खानीखोलाको यस गाउँसभामा गाउँपालिका अध्यक्षलाई घेर्ने र असन्तुष्टि पोख्नेहरूमा विपक्षी दल एमालेका राम मोक्तान मात्र एक्ला थिए । बाँकी आक्रोश र असन्तुष्टि पोख्ने कार्यपालिका तथा गाउँसभा सदस्यहरू खड्ग बहादुर विक, देवान सिं लोप्चन, रोहन रुम्बा, बिन्दा आचार्य र प्रेम गुरुङ सबै अध्यक्ष थिङकै दल तत्कालिन माओवादी (हाल नेकपा) का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू हुन् । आफ्नै दलका बहुमत सदस्यहरू नेतृत्वविरुद्ध खनिएपछि खानीखोला माओवादीभित्रको आन्तरिक कलह र पालिकाको कार्यशैली थप बहसमा आएको छ ।

सम्बन्धित खबर

भिडियो