समाचार | बेर्शेबा सेवा समितिद्वारा १०५ विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

बेर्शेबा सेवा समितिद्वारा १०५ विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

बेर्शेबा सेवा समितिद्वारा १०५ विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
33874  पटक हेरिएको

बालबालिकाको शैक्षिक उन्नयन र सर्वाङ्गीण विकासमा सहयोग पु¥याउने उद्देश्यले बेर्शेबा सेवा समितिले मोरङको रतुवामाई नगरपालिका–३ स्थित श्री जनता आधारभूत विद्यालय, पिडेलीका १०५ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

समितिको सहयोगमा हिजो असार ५ गते आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालय झोला, कापी, कलम, पेन्सिल, रङ्गीन पेन्सिल, ज्यामिति बक्स तथा चित्रकला सामग्री ९ड्रइङ बुक० हस्तान्तरण गरिएको थियो ।

साथै विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासलाई प्रोत्साहन गर्न विद्यालयलाई फुटबल र ब्याडमिन्टनलगायत खेलकुद सामग्रीसमेत प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रतुवामाई नगरपालिका–३ का वडाध्यक्ष देवीप्रसाद ताजपुरियाले शैक्षिक सामग्री वितरण जस्ता कार्यले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउनुका साथै विद्यालयमा नियमित उपस्थित हुन प्रेरित गर्ने बताउदै शिक्षाको विकासका लागि सरकारी निकायसँगै सामाजिक संस्थाहरूको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा समाज कल्याण परिषद्, ललितपुरका सहायक निर्देशक तथा कार्यक्रम विज्ञ चुन्नी खातुन ,विशिष्ट अतिथिका रूपमा सहभागी थिए । उनले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा नै सबैभन्दा बलियो आधार भएकाले यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राखे ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रतुवामाई–३ का इन्चार्ज रमेश थापा, महादेवा प्रहरी चौकीका इन्चार्ज भीमबहादुर श्रेष्ठ, बेर्शेबा सेवा समितिका अध्यक्ष भागलाल ताजपुरिया, प्रमुख कार्यकारी अधिकृत अनिश अब्राहम तथा समिति सदस्य डिकेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर ताजपुरिया, शिक्षक–अभिभावक संघका अध्यक्ष गोपालप्रसाद सिंह, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सो अवसरमा समिति सदस्य डिकेन्द्र बस्नेतले संस्थाको उद्देश्य तथा सामाजिक भूमिकाबारे प्रकाश पार्दै बेर्शेबा सेवा समिति स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, बालअधिकार तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले चालु वर्षमा विशेष गरी बालबालिकाको शैक्षिक पहुँच र गुणस्तरीय शिक्षामा सहयोग पु¥याउने उद्देश्यले विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गरिएको बताए ।

कार्यक्रमको अन्त्यमा विद्यालय प्रशासनले बेर्शेबा सेवा समितिप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास थपिने विश्वास व्यक्त गरेको छ । विद्यालयले आगामी दिनमा पनि शिक्षा र बालविकासका क्षेत्रमा यस्ता सहकार्यहरू निरन्तर भइरहने अपेक्षा गरेको छ ।

स्थानीय समुदायमा शिक्षा र बालबालिकाको भविष्यप्रति सकारात्मक सन्देश प्रवाह गरेको उक्त कार्यक्रमले सामाजिक उत्तरदायित्व निर्वाहमा गैरसरकारी संस्थाहरूको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको सहभागीहरूको भनाइ थियो।

सम्बन्धित खबर

भिडियो