समाचार | बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा बेथानचोककै पहिलो बेली ब्रिज निर्माण

बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा बेथानचोककै पहिलो बेली ब्रिज निर्माण

बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा बेथानचोककै पहिलो बेली ब्रिज निर्माण
11795  पटक हेरिएको

 

बेथानचोक, काभ्रेपलाञ्चोक । बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा बेथानचोक गाउँपालिका वडा नं. १ च्यामरङबेसीस्थित च्यामरङबेसी–झिङ्गे सडक खण्डमा गाउँपालिकाकै पहिलो बेली ब्रिज निर्माण सम्पन्न भएको छ। करिब रु. १ करोड ७० लाखको लागतमा निर्माण गरिएको उक्त बेली ब्रिजको एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो।

वर्षौंदेखि स्थानीयवासीले भोग्दै आएको आवागमन समस्यालाई मध्यनजर गर्दै निर्माण गरिएको बेली ब्रिज सञ्चालनमा आएपछि सुकुमफेदी, च्यामरङबेसी, झिङ्गे लगायत आसपासका क्षेत्रका नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा आवतजावतमा हुने कठिनाइ अब अन्त्य हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

बेली ब्रिज उद्घाटन कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी ले विकास निर्माणका पूर्वाधारहरू स्थानीय जनताको जीवनस्तरसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यस पुलले सुकुमफेदी–झिङ्गे क्षेत्रका नागरिकलाई ठूलो राहत पुर्‍याउने बताउनुभयो। उहाँले गाउँपालिकाले सडक, पुल, खानेपानी, शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखी विकासका कार्यहरू अगाडि बढाइरहेको समेत जानकारी दिनुभयो।

अध्यक्ष अधिकारीले बागमती प्रदेश सरकारको सहयोग तथा गाउँपालिकाको प्रतिबद्धताका कारण उक्त महत्वपूर्ण पूर्वाधार निर्माण सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक पूर्वाधार विकासका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राणा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, इन्जिनियर ज्ञानप्रसाद तिमल्सिना, वडा नं. १ का अध्यक्ष मधुसूदन तिमल्सिना लगायत जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीयवासीहरूले पुल निर्माणसँगै यातायात पहुँचमा सुधार आउने, कृषि उत्पादनको बजारीकरण सहज हुने तथा शिक्षा, स्वास्थ्य र अन्य सेवा प्राप्त गर्न नागरिकलाई सुविधा पुग्ने बताएका छन्। पुल सञ्चालनमा आएसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

बेथानचोक गाउँपालिकामा पहिलो पटक निर्माण भएको यस बेली ब्रिजलाई स्थानीय विकास र पूर्वाधार विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय तथा लागत साझेदारीको उदाहरणका रूपमा रहेको यो परियोजनाले ग्रामीण क्षेत्रमा पूर्वाधार विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

भिडियो