पावर न्युज एक्सप्रेस, समाचार | धुलिखेलमा निःशुल्क बरिस्टा तथा बेकरी तालिम सम्पन्न, ६५ दिनमा दक्ष जनशक्ति उत्पादन

धुलिखेलमा निःशुल्क बरिस्टा तथा बेकरी तालिम सम्पन्न, ६५ दिनमा दक्ष जनशक्ति उत्पादन

धुलिखेलमा निःशुल्क बरिस्टा तथा बेकरी तालिम सम्पन्न, ६५ दिनमा दक्ष जनशक्ति उत्पादन
12539  पटक हेरिएको

 

धुलिखेल, असार ५ — धुलिखेल नगरपालिका वडा नं. ४ को समन्वय तथा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क ६५ दिने बरिस्टा तथा बेकरी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम समापनसँगै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण थापा मगरले सीपमूलक शिक्षा र व्यावसायिक तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार तथा उद्यमशीलताको मार्गमा अघि बढ्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि धुलिखेल नगरपालिकाका कार्यबाहक नगर प्रमुख निराजन जङ्गमले स्थानीय तहले सीप विकास र रोजगारमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो। उहाँले यस्ता तालिमले युवाहरूको क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सामाजिक विकास कार्यालय धुलिखेलकी प्रमुख तथा सामाजिक विकास शाखाकी मञ्जु कार्कीले प्रदेश सरकारको सहयोगमा सञ्चालन भएका सीपमूलक कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पारिरहेको बताउनुभयो। उहाँले तालिममा सहभागी युवाहरूले सिकेको सीपलाई आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, धुलिखेल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिनाले वडा स्तरबाट युवाहरूको क्षमता विकास र आर्थिक सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

समारोहमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै उनीहरूले तालिम अवधिभर हासिल गरेका बरिस्टा तथा बेकरी सम्बन्धी सीप, मेहनत र उपलब्धिको प्रशंसा गरिएको थियो। सहभागीहरूले तालिमबाट व्यावहारिक ज्ञान प्राप्त भएको र आगामी दिनमा यसलाई पेशागत रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको आयोजना तथा व्यवस्थापन गरेको Innovative Hospitality Management Training Center का निर्देशक कामदेव शाह ठकुरीले अतिथि, सहयोगी निकाय, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै सीपमूलक शिक्षामार्फत आत्मनिर्भर समाज निर्माणमा योगदान पुर्‍याइरहने प्रतिबद्धता व्यक्त गरे ।

“सीप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने मूल नारासहित सम्पन्न उक्त तालिमले आतिथ्य तथा बेकरी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ।

सम्बन्धित खबर

भिडियो