बनेपा । प्रगति प्रभात एकेडेमीले विद्यार्थीहरूलाई गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षण वातावरण प्रदान गर्ने उद्देश्यले कक्षा ८, ९ र १० का लागि छुट्टै आधुनिक शैक्षिक ब्लक निर्माण गरी सञ्चालनमा ल्याएको छ।

विद्यालयले निर्माण गरेको नयाँ भवनमा सुविधा सम्पन्न कक्षाकोठा, स्वच्छ खानेपानीको व्यवस्था, आधुनिक बाथरुम तथा प्रविधियुक्त स्मार्ट बोर्ड जडान गरिएको छ। विद्यार्थीको सिकाइलाई थप प्रभावकारी, सहज र व्यवहारिक बनाउने लक्ष्यसहित विद्यालयले आधुनिक शैक्षिक पूर्वाधार विस्तार गरेको जनाएको छ।
विद्यालयका अनुसार नयाँ ब्लकमा प्रविधिअनुसारको पठनपाठनलाई प्राथमिकता दिइनेछ। स्मार्ट बोर्डमार्फत अन्तरक्रियात्मक शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिने भएकाले विद्यार्थीहरूले आधुनिक शिक्षा प्रणालीको प्रत्यक्ष अनुभव प्राप्त गर्ने विश्वास गरिएको छ।
विद्यालय व्यवस्थापनले शिक्षासँगै विद्यार्थीमैत्री वातावरण निर्माणमा निरन्तर लगानी गर्दै आएको बताएको छ। नयाँ ब्लक सञ्चालनमा आएपछि विद्यार्थी तथा अभिभावकहरूमा समेत उत्साह थपिएको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुयु लक्ष्मी शाक्यले विद्यालयलाई समयअनुकूल र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत नयाँ ब्लक निर्माण गरिएको बताउँदै विद्यार्थीलाई उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्नु विद्यालयको प्राथमिकता रहेको उल्लेख गर्नुभयो।
विद्यालयकी प्राचार्य सुमित्रा श्रेष्ठ ताजपुरियाले आधुनिक पूर्वाधार र स्मार्ट प्रविधिको प्रयोगले शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालय निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो।
विद्यालय निर्देशक चन्द्रप्रसाद ताजपुरियाले “प्रविधिअनुसारको पठनपाठन र सुविधा सम्पन्न शैक्षिक वातावरण आजको आवश्यकता हो। त्यसैलाई मध्यनजर गर्दै विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर आधुनिक कक्षाकोठा निर्माण गरेका हौं,” भन्नुभयो।














