काठमाडौं – ‘जुनको छेउमा केहोर तारा, गोल्ली भन्दा तिम्रो याद ज्यानमाया’ जस्ता लोकप्रिय गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल सर्जक तथा गायक दिनेश श्रेष्ठले पुनः दुई नयाँ गीत एकैसाथ सार्वजनिक गर्दै चर्चा बटुलेका छन्।
लगातार सांगीतिक सिर्जनामा सक्रिय श्रेष्ठले यसपटक उच्चस्तरीय निर्माण, चर्चित कलाकारको अभिनय र आकर्षक प्रस्तुतीकरणसहित दुई म्युजिक भिडियो दर्शकमाझ ल्याएका हुन्।

सार्वजनिक भएका दुवै गीतले नेपाली संगीत बजारमा सकारात्मक प्रतिक्रिया पाउन थालेका छन्। पहिलो गीत ‘झुम्का दिउँला सुनैको’ मा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता पल शाह र अभिनेत्री गीता ढुङ्गाना को अभिनय रहेको छ। उक्त म्युजिक भिडियो हाल काजिस श्रेष्ठ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। त्यसैगरी दोस्रो गीत ‘डाँडैमा चल्यो बतास’ मा चर्चित निर्देशक सुनिस क्षेत्रीसँगै अस्मिता जुरेली, आरुसी मगर र तिर्शना बुढाथोकीको अभिनय देख्न सकिन्छ।
यो म्युजिक भिडियो GSR Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। दुवै गीतमा दिनेश श्रेष्ठ स्वयंले शब्द सिर्जना गर्नुका साथै स्वरसमेत दिएका छन्। महिला स्वरमा लोकप्रिय गायिका स्मृति गौतम र शारदा रसाइलीको साथ रहेको छ। सर्जक, गीतकार र गायकको रूपमा आफूलाई स्थापित गर्दै आएका दिनेश श्रेष्ठले आफ्ना सिर्जनामार्फत नेपाली लोक तथा आधुनिक संगीतमा निरन्तर योगदान दिँदै आएका छन्।
यसपटक सार्वजनिक भएका गीतहरूमा संगीत, शब्द, अभिनय र दृश्य निर्माणको स्तर निकै उत्कृष्ट रहेको प्रतिक्रिया दर्शक तथा संगीतप्रेमीबाट प्राप्त भइरहेको छ। नुवाकोटका दिनेश श्रेष्ठलाई दर्शक, श्रोता तथा उनका सहकर्मीहरूले समेत शुभकामना दिँदै दुवै गीत आगामी दिनमा थप लोकप्रिय बन्ने विश्वास व्यक्त गरेका छन्।














