काभ्रे — भुम्लु गाउँपालिकाले नागरिकलाई सहज, छिटो तथा प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यसहित गाउँपालिकाबाटै भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ।
साविक मालपोत तथा नापी कार्यालयबाट प्रदान हुँदै आएका सेवा अब गाउँपालिकामै उपलब्ध गराउने गरी आवश्यक पूर्वाधार निर्माण, प्राविधिक व्यवस्थापन तथा समन्वयका काम तीव्र रूपमा अघि बढाइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खत्रीले नागरिकलाई आफ्नै स्थानीय तहबाट सेवा उपलब्ध गराउने लक्ष्यअनुसार काम भइरहेको बताउँदै सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार सेवा प्रारम्भ भएपछि जग्गा प्रशासनसम्बन्धी विभिन्न कामका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
यस सेवाबाट स्थानीय नागरिकको समय, खर्च तथा श्रम बचत हुनुका साथै सेवा प्रवाह थप प्रभावकारी र सहज बन्ने गाउँपालिकाको विश्वास छ। गाउँपालिकाले छिट्टै औपचारिक रूपमा सेवा शुभारम्भ गरिने जनाएको छ।












