खेलकुद, समाचार | च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रिदै नेपाली महिला फुटबल टोली

च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रिदै नेपाली महिला फुटबल टोली

च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रिदै नेपाली महिला फुटबल टोली
18089  पटक हेरिएको

काठमाडौं,

जेठ ११ ।
साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले आज उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्दैछ । खेल भारतको गोवा राज्यस्थित मडगाउँ शहरको जवाहरलाल नेहरु रंगशाला मा नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

आठौं संस्करणसम्म आइपुग्दा नेपालले ६ पटक उपविजेतामै सीमित रहँदै आएको छ । लगातार फाइनल पुगेर पनि उपाधि जित्न नसकेको पीडालाई यसपटक अन्त्य गर्ने लक्ष्यसहित नेपाली महिला टोली भारत पुगेको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने ले यसपटक प्रतियोगितालाई केवल क्षेत्रीय प्रतिस्पर्धा नभई नेपाली महिला फुटबलको प्रतिष्ठा र पहिचानसँग जोडिएको अभियानका रूपमा लिएका छन् । अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजनसहित मैदान उत्रने तयारीमा रहेको टोलीले उपाधि जित्ने स्पष्ट लक्ष्य राखेको छ ।

टोलीमा अनिता बस्नेत, हिरा भुजेल र गीता राना जस्ता अनुभवी खेलाडीको उपस्थिति रहेको छ । उहाँहरूले टोलीको मनोबल बलियो बनाउने अपेक्षा गरिएको छ । साथै युवा खेलाडीका लागि पनि साफ च्याम्पियनसिप आफूलाई प्रमाणित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

यद्यपि नेपाली टोलीलाई यसपटक दुई महत्त्वपूर्ण खेलाडीको अनुपस्थितिले असर पार्ने देखिएको छ । टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ तथा अनुभवी खेलाडी सविता राना चोटका कारण प्रतियोगिताबाट बाहिर हुनुहुन्छ । उहाँहरूको अनुपस्थितिले आक्रमण र अनुभव दुवै पक्षमा चुनौती थपिएको छ ।

छ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा भुटान र श्रीलंका छन् । नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने तालिका छ ।

समूह ‘बी’ मा साविक विजेता बंगलादेश, आयोजक भारत र माल्दिभ्स छन् । यस समूहका टोली बलिया मानिएकाले सेमिफाइनल चरणमा नेपालले कडा प्रतिस्पर्धा सामना गर्नुपर्ने सम्भावना देखिएको छ । प्रतियोगिताको सेमिफाइनल जेठ २० गते तथा फाइनल जेठ २३ गते हुनेछ ।

सम्बन्धित खबर

भिडियो