काठमाडौं – एउटै गाउँपालिकामा कार्यरत सब–इन्जिनियर ज्ञानेन्द्र खड्का र तुल्सा चौधरी हालै विवाह बन्धनमा बाँधिएका छन्। लामो प्रेम सम्बन्ध, अन्तरजातीय सम्बन्धका कारण भोग्नुपरेका संघर्ष र अनेक उतारचढाव पार गर्दै उनीहरूले अन्ततः आफ्नो प्रेमलाई सफल बनाउँदै जीवनको नयाँ अध्याय सुरु गरेका हुन्। अछामका ज्ञानेन्द्र र झापाकी तुल्साको भेट अध्ययनकै क्रममा भएको थियो। २०७४ सालमा एसईई उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि उनीहरू डोटीको सेती टेक्निकल स्कुल, टिपायल पुगेका थिए। त्यहीँबाट सुरु भएको चिनजान विस्तारै मित्रतामा र पछि प्रेम सम्बन्धमा परिणत भयो।
अध्ययनसँगै भविष्य सुरक्षित बनाउने जिम्मेवारी पनि उनीहरूका अगाडि थियो। त्यसैले दुवैले सँगै काठमाडौं आएर लोकसेवाको तयारी सुरु गरे। तयारीका क्रममा आर्थिक तथा पारिवारिक चुनौतीहरू आए पनि उनीहरूले हार मानेनन्। निरन्तर मेहनत, एकअर्काप्रतिको विश्वास, साथ र प्रेरणाले उनीहरूलाई सफलताको यात्रामा थप बलियो बनायो। लामो संघर्षपछि दुवैले लोकसेवामा नाम निकाल्दै सब–इन्जिनियरका रूपमा निजामती सेवामा प्रवेश गरे।

सुरुमा तुल्सा गुल्मीको कालिगण्डकी गाउँपालिकामा सिफारिस भएकी थिइन्। केही वर्ष त्यहाँ सेवा गरेपछि करिब पाँच महिनाअघि सरुवा मिलाएर उनी अहिले पाल्पाको माथागढी गाउँपालिकामा कार्यरत छिन्। ज्ञानेन्द्र पनि सोही गाउँपालिकामै कार्यरत छन्। कार्यक्षेत्र एउटै बनेपछि उनीहरूले हालै विवाह गरेका हुन्। अन्तरजातीय प्रेम सम्बन्ध भएकाले सुरुमा परिवारलाई मनाउन केही कठिनाइ भए पनि पछि दुवै परिवारको सहमति र साथ प्राप्त भयो। त्यसपछि उनीहरूले खुसीसाथ विवाह सम्पन्न गरे।
हाल दुवैको परिवार कैलालीमा बसोबास गर्दै आएका छन् भने ज्ञानेन्द्र र तुल्सा कार्यक्षेत्र पाल्पामै बस्दै आएका छन्। सँगै अध्ययन गर्दै संघर्षका साथ सरकारी सेवामा प्रवेश गरी आज वैवाहिक जीवन सुरु गरेका उनीहरूको प्रेम, संघर्ष र सफलताको कथा धेरैका लागि प्रेरणादायी बनेको छ।












