कला मनोरञ्जन / साहित्य, पावर न्युज एक्सप्रेस, समाचार | स्रष्टा सर्जकलाई ‘ग्लोबल स्टार अवार्ड’

स्रष्टा सर्जकलाई ‘ग्लोबल स्टार अवार्ड’

स्रष्टा सर्जकलाई ‘ग्लोबल स्टार अवार्ड’

काठमाडौं – दक्ष इन्टरनेशनलको आयोजनामा ‘ग्लोबल स्टार अवार्ड-२०२६’ को दोस्रो संस्करण राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ । सुकेधारास्थित होटल मर्क्यूरमा आयोजित समारोहमा कला, संगीत, पत्रकारिता, समाजसेवा, शिक्षा तथा स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।

समारोहमा वरिष्ठ अभिनेता नीर शाह प्रमुख अतिथि तथा हास्य कलाकार मदनदाश श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई ‘दिग्गज अभिनेत्री सम्मान’ तथा वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई ‘अति विशिष्ट सम्मान’ प्रदान गरियो । यस्तै, अभिनेता तथा मोडल पल शाहलाई ‘ग्लोबल स्टार अफ द डिकेड’ तथा वरिष्ठ गायिका सुनिता लुइँटेललाई ‘जीवित धरोहर सम्मान’ प्रदान गरिएको थियो ।

त्यसैगरी, यम बराल, रमेश बुढाथोकी, र यमन श्रेष्ठलगायत विभिन्न कलाकार तथा स्रष्टाहरूलाई पनि फरक–फरक विधामा सम्मान गरिएको आयोजकले जनाएको छ ।

पत्रकारिता क्षेत्रबाट अखण्ड भण्डारी, कल्पना शर्मा र वीरेन्द्र जैरुलगायतले ‘पत्रकारिता विशेष सम्मान’ प्राप्त गरेका थिए । उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट राष्ट्रसेवक सम्मान’ प्रदान गरिएको थियो भने भजन गायक रेशम सापकोटालाई ‘संगीत रत्न’ सम्मानबाट विभूषित गरिएको थियो ।

कार्यक्रममा भारतका आचार्य प्रशान्त, जीवन शर्मा र प्रदीप फुटेलालाई समेत अन्तर्राष्ट्रिय विधातर्फ सम्मान गरिएको थियो । प्रमुख अतिथि निर शाह तथा पूर्व उपसभामुख इन्दिरा राना मगरले सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमले सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक संस्था दक्ष इन्टरनेशनलका अध्यक्ष तथा कार्यक्रम निर्देशक राजेन्द्र लुइँटेलले समाजमा सकारात्मक प्रभाव पार्ने स्रष्टा र व्यक्तित्वहरूको योगदानलाई उजागर गर्नु अवार्डको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसमेत रहेको कार्यक्रममा देशभरबाट सयभन्दा बढी स्रष्टा तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । आगामी वर्षहरूमा पनि अवार्ड कार्यक्रमलाई अझ व्यापक र परिष्कृत गर्दै निरन्तरता दिने अवार्डका संयोजक टेकराज पाण्डेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खबर

भिडियो