अन्तराष्ट्रिय | क्यानाडामा एएनओको राष्ट्रिय शाखा विस्तार

क्यानाडामा एएनओको राष्ट्रिय शाखा विस्तार

क्यानाडामा एएनओको राष्ट्रिय शाखा विस्तार
17787  पटक हेरिएको

✍️ अर्जुन प्रधान
जेठ १ ।

विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई एकताबद्ध गर्दै नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थापित एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)ले क्यानाडामा आफ्नो राष्ट्रिय शाखा विस्तार गरेको छ ।
टोरन्टोमा आयोजित विशेष बैठकले अवकाशप्राप्त प्राध्यापक चित्र प्रधानको अध्यक्षतामा ‘एएनओ क्यानाडा’को नयाँ कार्यसमिति गठन गरेको एएनओका केन्द्रीय महासचिव चूडामणि भट्टराईले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष प्रधानले क्यानाडाभर बसोवास गर्ने नेपाली मूलका समुदायलाई साझा र सशक्त मञ्चमार्फत एकताबद्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली कला, भाषा र संस्कृतिको संरक्षणलाई संस्थाको प्राथमिकतामा राखिने बताउनुभयो।
प्रधानले एएनओका मुख्य उद्देश्यहरू कार्यान्वयनमा जोड दिँदै नेपाल तथा विश्वभर रहेका नेपाली मूलका व्यक्तिहरूसँग सञ्जाल विस्तार गर्ने, सांस्कृतिक गौरवको संरक्षण गर्ने, विश्वमञ्चमा नेपाली पहिचानलाई स्थापित गर्ने तथा नेपालसँगको पुख्र्यौली सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

एएनओ क्यानाडाको नयाँ कार्यसमितिमा समितिको महासचिवमा मुगा राजभण्डारी, कोषाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र प्रवक्तामा जुनी चापागाईं रहनुभएको छ । यस्तै, उपाध्यक्षमा एमी कर्माचार्य (बर्मेली÷थाइ नेपाली मूल) र सचिवमा भीम सिग्देल (भुटानी नेपाली मूल) चयन हुनुभएको छ ।

यसैबीच, एएनओले नेपाल सरकारद्वारा प्रस्तावित गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०८२ को मस्यौदामाथि आफ्ना सुझावसमेत पेश गरेको छ । परराष्ट्र मन्त्रालयका सचिवलाई बुझाइएको सुझावमा ‘नेपाली मूल’को परिभाषालाई फराकिलो बनाउनुपर्ने माग गरिएको छ ।
संस्थाले विदेशमा जन्मिएका पछिल्ला पुस्तालाई समेत नेपाली मूलको दायरामा समेट्नुपर्ने, म्यानमार, थाइल्याण्ड, भुटान र मलेसियाबाट अन्य मुलुक पुगेका नेपाली मूलका व्यक्तिहरूलाई स्पष्ट पहिचान दिनुपर्ने, पैतृक सम्पत्ति हस्तान्तरणमा लाग्ने उच्च राजस्व हटाउनुपर्ने तथा गैरआवासीय नेपालीलाई नेपालको अभिन्न अंगका रूपमा स्वीकार गर्नुपर्ने सुझाव दिएको जनाएको छ ।

एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष सुशीलकुमार पन्त र महासचिव चूडामणि भट्टराईले प्रस्तावित सुधारहरूले विश्वभर रहेका नेपालीहरूको ज्ञान, अनुभव र पुँजीलाई नेपालसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । क्यानाडामा चित्र प्रधानको नेतृत्वमा भएको शाखा विस्तारले उत्तर अमेरिकामा नेपाली पहिचान र सांस्कृतिक एकताको अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

भिडियो