समाचार

वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई ‘सगरमाथा सङ्गीत सम्मान

वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई ‘सगरमाथा सङ्गीत सम्मान
437  पटक हेरिएको

काठमाडौं,
चैत २८ ।

सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ मा वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई ‘सगरमाथा सङ्गीत सम्मान’ अर्पण गरिएको छ । नेपाली गीत-सङ्गीत क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

अवार्ड समारोहका अवसरमा आयोजित विशेष कार्यक्रममा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, आयोजक समिति कार्यक्रम प्रमुख पुरुषोतम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, रिलायन्स फाइनान्सका डेपुटी सिइओ रामहरी आचार्य तथा जुरी संयोजक सन्तोष श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूले साहित्यकार दाहाललाई सम्मान अर्पण गरेका थिए । सो अवसरमा विभिन्न विधामा योगदान पुर्‍याएका अन्य कलाकार, पत्रकार तथा सामाजिक अभियन्ताहरूलाई पनि सम्मान गरिएको थियो ।

अर्थ नेपाल प्रालिको आयोजनामा ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित राष्ट्रिय नाचघर, जमलमा अवार्ड समारोह भव्य रूपमा सम्पन्न भएको थियो । कार्यक्रममा देश-विदेशका कलाकार, सामाजिक अभियन्ता, व्यवसायी तथा विभिन्न क्षेत्रका नेतृत्वदायी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो । सोही अवसरमा वरिष्ठ सितारवादक विजया शर्मालाई ‘सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड’ अन्तर्गत नगदसहित सम्मान गरिएको थियो ।

लाब्री, तेह्रथुम घर भइ हाल काठमाडौंमा बस्दै आउनुभएका महाकाव्यकार खेमनाथ दाहालका ‘श्वेतपत्र’ (महाकाव्य), ‘रश्मि’ (खण्डकाव्य) तथा ‘श्रद्धाञ्जलि, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु’ जस्ता कवितासङ्ग्रह प्रकाशित छन् । यस्तै उहाँका ‘यात्राको सिकर्नी’ नियात्रा र ‘अहोरात्र’ उपन्यास जस्ता कृति पाठकमाझ आएका छन् । ‘उहाँका बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’ जस्ता राष्ट्रिय भावले ओतप्रोत गीत श्रोता/दर्शकमाझ आएका छन् ।

सम्बन्धित खबर

भिडियो