पावर न्युज एक्सप्रेस, शिक्षा र स्वास्थ्य, समाचार, सुरक्षा, स्थानीय | घोषणाको ताली, दुर्गमको स्ट्रेचर: तामझामको उत्सवले नदेखेको यथार्थ

घोषणाको ताली, दुर्गमको स्ट्रेचर: तामझामको उत्सवले नदेखेको यथार्थ

घोषणाको ताली, दुर्गमको स्ट्रेचर: तामझामको उत्सवले नदेखेको यथार्थ

 

धुलिखेल । काभ्रेलाई आज एक समारोहका बिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । भव्य समारोहका बिच जिल्ला खोप समन्वय समिति काभ्रेको आयोजना र जनस्वास्थ्य कार्यालय काभ्रेको समन्वयमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, काभ्रेका स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न संघसंगठनको बाक्लो उपस्थिती रहेको थियो । धुलिखेलको प्रेम व्यांक्वेटमा आयोजित कार्यक्रममा पञ्चेबाजा सहितको माहोल बनेको थियो । बिहानैबाट काभ्रेको मौषम कार्यक्रमका लागि आनुकल त थिएन । तर,प्रतिकुल मौषमा बिच पनि कार्यक्रम भव्य देखिएको थियो ।

जिल्लामा खोप लगाउने उमेरका सम्पूर्ण बालबालिकाहरुले खोप पाएसँगै काभ्रे जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय काभ्रेले जिल्लाका १३ वटा पालिकाका १ सय ३५ वटै वडामा खोप अभियान सञ्चालन गरी ५ वर्षमुनिका खोप लगाउन छुटेका बालबालिकाहरुको पहिचान गरेर सबै बालबालिकालाई खोप लगाइएको जनाएको छ । स्वास्थ्य कार्यालय काभ्रेकाका प्रमुख रागिश्री कक्षपति श्रेष्ठका अनुसार जिल्लाभर पाँच वर्षमुनिका जिल्लामा ७ हजार ३६७ लक्षित बालबालिकामध्ये ७ हजार ३५९ जनाले पूर्ण खोप प्राप्त गरेका छन् ।

जिल्लाका जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअनुसार सबै खोप पूरा गरेका उनले बताइन् । तथ्यांकअनुसार जन्मेदेखि १५ महिनासम्मका ४ हजार २१२ बालबालिकामध्ये ४ हजार २०९ जनाले सबै नियमित खोप पूरा गरेका छन् । यसमध्ये केवल दुई जना ‘ड्रप आउट’ भएका छन् भने एक जना शून्य डोज बालबालिका रहेको उल्लेख छ ।

यस्तै, १६ देखि २३ महिनासम्मका ३ हजार १५५ बालबालिकामध्ये ३ हजार १ सय ५० जनाले पूर्ण खोप प्राप्त गरेका छन् । पाँच जना खोप कार्डविहीन रहेको र १४ जना ड्रप आउट भएको प्रतिवेदनमा उल्लेख छ । उक्त उमेर समूहमा शून्य डोजका बालबालिका नरहेको तथ्यांकले देखाएको छ । समग्रमा ६ जना ड्रप आउट, एक जना शून्य डोज तथा पाँच जना खोप कार्डविहीन बालबालिका मात्र रहेको देखिन्छ ।

उक्त अवस्थाका वावजुद आइतबार मात्र काभ्रेको एक घटनाले आम नागरिकको ध्यान तानेको छ । एका तर्फ लाखौ खर्च गरेर उत्सव मनाइ रहदाँ अर्को तर्फ उपचारको अभावमा ज्यान गुमाउनु पर्ने बाध्यता कायमै छ । काभ्रेका विकट स्थानीय तहमा विशेषज्ञ डाक्टर सहितको सुविधा पु¥याउन नसक्दा ग्रामिण भेगका नागरिकहरु सामन्य उपचार पाउनबाट अझै बञ्चित छन् ।

गत जेठ मसान्तमा मात्र उच्च रक्तश्रावका कारण एक सुत्केरी महिलाले ज्यान गुमाउनु परेको घटना ताजै छ । बेथानचोक गाउँपालिका–१ की एक महिलाले सुत्केरी भएको २४ घण्टापछि उच्च रक्तश्रवाका कारण मृत्यु बरण गर्नुप¥यो । उपचारको क्रममा उनको मृत्यु भएको थियो । उनले जन्म दिएको बच्चा भने सकुशल रहेको जनाइएको छ ।

असार २८ गते आइतबार मात्र पनि प्रतिकूल मौसमका कारण हेलिकप्टरमार्फत उद्धार सम्भव नभएपछि खानीखोला गाउँपालिका ६ की गर्भवती सानीमाया लोप्चनलाई पैदलमार्गबाट अस्पतालतर्फ लगियो । स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, नेपाल सरकार तथा गृहमन्त्रालयले शनिबार साझदेखि हेलिकप्टरमार्फत उद्धारका लागि निरन्तर प्रयास गरे पनि खराब मौसमका कारण उडान हुन नसकेपछि अन्ततः पैदलमार्गबाटै अस्पताल लगिएको हो ।

स्थानीय स्तरमा विषेशज्ञ डाक्टरको सेवा पु¥याउन सकेको भए बेथानचोक र खानीखोलाका ती महिलाहरुले समयमा नै उपचार पाउने अवस्था बन्न सक्थ्यो । तर, सरोकारवाला निकायले सो विषयमा जिम्मेवार ढंगबाट अघि ढ्न नसकेको प्रष्ट छ ।

एउटै जिल्लाका दुई घटनाले कहिलेकाहीँ विकासको दाबी र जनजीवनको यथार्थबीचको दूरी नापिदिन्छन् । काभ्रे त एउटा उदाहरण मात्र हो बागमती प्रदेश मात्र होइन नेपालका कतिपय जिल्ला र स्थानीय तह अहिले त्यही अवस्थाबाट गुज्रिरहेका छन् ।

गर्भवती महिलाको उद्धार स्थानीयको काँध बनिरहेको अवस्थामा त्यो भव्य समारोहलाई गिज्याइरहेको आयोजकले पत्तो पाएनन् । लक्षित बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअनुसार खोप पाएपछि प्राप्त उपलब्धि निश्चय नै स्वागतयोग्य छ । खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा, रोग नियन्त्रण र सार्वजनिक स्वास्थ्य सुधारमा खेलेको भूमिका अस्वीकार गर्न सकिँदैन । तर प्रश्न उपलब्धिमाथि होइन, प्राथमिकतामाथि हो ।

एउटै जिल्लामा एकातिर गर्भवती महिला समयमै अस्पताल पुग्न नसक्ने अवस्था छ भने अर्कोतिर उपलब्धिको उत्सव भव्य रुपमा मनाउन यस्तो विरोधाभासले स्वाभाविक रुपमा प्रश्न जन्माउँछ । जसले स्वास्थ्य सेवाको वास्तविक सफलता मञ्चमा मापन भन्दापनि नागरिक प्रतिको राज्यको जिम्मेवारी र संकटको बेलाको सेवालाई झल्काउँछ ।

स्वास्थ्य क्षेत्रका उपलब्धि सार्वजनिक हुनु आवश्यक छ । यसले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तह र समुदायको योगदानको सम्मान पनि गर्छ । तर घोषणा समारोहको उदेश्य उपलब्धिको प्रचार मात्र होइन, बाँकी चुनौतीप्रति जवाफदेही पनि हुनुपर्छ । खानिखोला र महाभारत जस्ता विकटका नागरिकले अझै आधारभूत स्वास्थ्य सेवा, सुरक्षित प्रसूति, आकस्मिक उद्धार र सहज यातायातको अभाव झेलिरहेका बेला औपचारिक समारोहले मात्र स्वास्थ्य प्रणाली बलियो भएको प्रमाणित गर्दैन ।

खानीखोला घटना कुनै एक परिवारको पीडा मात्र होइन । यो दुर्गम भूगोल, कमजोर पूर्वाधार र आपतकालीन स्वास्थ्य सेवाको सीमित क्षमताको संकेत हो । हेलिकप्टर मौसमले रोक्न सक्छ । तर वैकल्पिक उद्धार प्रणाली, सुरक्षित सडक, सक्षम स्वास्थ्य संस्था र समयमै सेवा दिने संरचना राज्यले निर्माण गर्नुपर्छ । नागरिकले यिनै आधारभूत सेवाको अपेक्षा गर्छन् ।

त्यसैले अब आवश्यक बहस यो होइन कि पूर्ण खोप घोषणा गर्नुपथ्र्यो कि पर्दैनथ्यो । वास्तविक बहस यो हो कि घोषणा कार्यक्रम कति मितव्ययी, उदेश्यपरक र परिणाममुखी थियो । यदि यस्ता कार्यक्रमहरुमा हुने अनावश्यक खर्चलाई दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य, आपतकालीन यातायात, स्वास्थ्य संस्थाको सुदृढीकरण र जनशक्ति व्यवस्थापनमा लगानी गर्न सकियो भने त्यसले नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउने थियो ।

काभ्रेका यी दुई घटनाले सरकार र नीति निर्मातालाई सफलता समारोहको भव्यताले होइन, सेवाको पहुँचले प्रमाणित गर्छ भन्ने सन्देश दिएको छ । नागरिकलाई आवश्यक परेको बेला समयमै उपचार, सुरक्षित प्रसूति र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउन सकियो भने घोषणा आफैं अर्थपूर्ण हुन्छ । अन्यथा मञ्चमा बज्ने ताली र दुर्गममा बोकिने स्ट्रेचरबीचको दूरी प्रत्येक वर्ष अझै असहज प्रश्न बनेर उभिइरहनेछ ।

सम्बन्धित खबर

भिडियो