सन्ताेष प्रसाद तिवारी
काठमाडौं,२०८३ असार २६ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको घटनाले राज्यको सेवा प्रणाली र नागरिकको पीडाप्रति गम्भीर प्रश्न उठाएको छ। मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले गरेको यो आत्मदाह प्रयास कुनै व्यक्तिगत घटना मात्र नभई नागरिकले भोगिरहेका समस्या,राज्यले नागरिक प्रति गरिने जिम्मेवार र व्यवहार,नागरिकले चारैतिरबाट अभिभावकविहीन नेतृत्वको अभाव महसुस गर्नु, बेरोजगार, महँगी ,मुल्यवृद्धि ,चाैतर्फि कर आतंक,जीवन नै अत्यासिलाे अवस्थामा पुग्नु,निराशा र मानसिक दबाबको संकेतका रूपमा पनि हेरिनुपर्ने देखिन्छ। सरकारको दायित्व केवल घटना भएपछि अनुसन्धान गर्नु मात्र होइन, नागरिकलाई यस्तो अवस्थामा पुग्न नदिने वातावरण तयार गर्नु पनि हो।

सार्वजनिक सेवा सहज, छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन नसक्दा सर्व साधारणले विभिन्न कार्यालयमा सास्ती भोग्नुपरेको गुनासो बारम्बार उठ्ने गरेको छ। यदि कुनै नागरिक सरकारी सेवा लिन जाँदा चरम निराशामा पुगेर आफ्नै जीवन समाप्त गर्ने प्रयास गर्न बाध्य हुन्छ भने त्यो लोकतान्त्रिक शासनका लागि चिन्ताको विषय हो। सरकारले घटनाको निष्पक्ष छानबिन गर्दै वास्तविक कारण सार्वजनिक गर्नुपर्छ। साथै, सरकारी सेवामा देखिएका कमजोरी सुधार गरी नागरिकलाई दुःख, हैरानी र अपमान सहनुपर्ने अवस्था अन्त्य गर्न तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ। मानव जीवन अमूल्य छ। राज्यले प्रत्येक नागरिकको सम्मान, सुरक्षा,सहज सेवाको सुनिश्चितता र आधारभुत आवश्यकताकाे उचित व्यवस्था मिलाउन सके मात्र यस्ता दुःखद घटनाको पुनरावृत्ति रोक्न सकिन्छ।











