बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी भूपेन्द्र बहादुर खत्रीले बर्दिया जिल्लाको अनुगमन भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालय बर्दिया तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको छ।
अनुगमनका क्रममा डिआईजी खत्रीले जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्था, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र संरक्षण तथा विपद् व्यवस्थापनलगायतका विषयमा जानकारी लिनुभएको थियो।
उहाँले मातहतका प्रहरी इकाइका प्रमुख, प्रहरी चौकी इन्चार्ज तथा उपस्थित प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरीको नीति, उद्देश्य र कार्ययोजनाअनुसार व्यावसायिक, अनुशासित र जिम्मेवार ढंगबाट नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिनुभयो।

साथै, अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रमाणमुखी अनुसन्धान प्रणाली अवलम्बन गर्न, प्रविधिमैत्री प्रहरी कार्यलाई प्राथमिकता दिन तथा जनताको विश्वास जित्ने गरी सेवा प्रवाह गर्न विशेष जोड दिनुभएको थियो।
डिआईजी खत्रीले प्रहरी संगठनप्रति जनविश्वास अभिवृद्धि गर्ने, शान्ति–सुरक्षा कायम राख्ने तथा सुशासन प्रवर्द्धनमा सबै प्रहरी कर्मचारीको सक्रिय भूमिका आवश्यक रहेको समेत उल्लेख गर्नुभएको थियो।












