कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले कार्यालय भवन, विभिन्न शाखा तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभएको हो।

निरीक्षणपश्चात आयोजित कार्यक्रममा डीआईजी खत्रीले ट्राफिक प्रहरी कर्मचारीहरूलाई जनताप्रति शिष्ट, नम्र र व्यावसायिक व्यवहार प्रस्तुत गर्न आग्रह गर्दै नागरिककेन्द्रित सेवालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। उहाँले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सर्वसाधारणको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो।
डीआईजी खत्रीले पछिल्लो समय बढ्दै गइरहेको सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै दुर्घटना न्यूनीकरणका लागि नियमित सवारी चेकजाँचमा कडाइ गर्न, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्न तथा चालक र सर्वसाधारणलाई लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभयो।
उहाँले ट्राफिक प्रहरीको भूमिका केवल नियम उल्लङ्घन गर्ने सवारी कारबाहीमा सीमित नभई सुरक्षित, व्यवस्थित र अनुशासित सडक संस्कृतिको विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो। साथै, नागरिकको विश्वास र सहयोग प्राप्त हुने गरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सम्पूर्ण प्रहरी कर्मचारीलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न आग्रह गर्नुभयो।
डीआईजी खत्रीको निरीक्षण तथा निर्देशनले कपिलवस्तु जिल्लामा ट्राफिक व्यवस्थापनलाई थप सुदृढ, नागरिकमैत्री र परिणाममुखी बनाउन सकारात्मक सन्देश दिएको छ।














