पावर न्युज एक्सप्रेस, समाचार, सुरक्षा | धनगढीमा मोटरसाइकललाई ठक्कर दिएर फरार भारतीय चालक मध्यरातमै पक्राउ, एसपी र डिएसपी आफैँ खटिए

धनगढीमा मोटरसाइकललाई ठक्कर दिएर फरार भारतीय चालक मध्यरातमै पक्राउ, एसपी र डिएसपी आफैँ खटिए

धनगढीमा मोटरसाइकललाई ठक्कर दिएर फरार भारतीय चालक मध्यरातमै पक्राउ, एसपी र डिएसपी आफैँ खटिए

धनगढी, असार २१ – धनगढीमा मोटरसाइकललाई ठक्कर दिएर गाडीसहित फरार भएका एक भारतीय नागरिकलाई प्रहरीले मध्यरातमै पक्राउ गरेको छ। घटनापछि चालकको खोजीमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्द र प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिना स्वयं खटिएका थिए।

आइतबार राति करिब पौने १० बजे धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा यूपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनापछि गाडी चालक घटनास्थलबाट फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार भारतको उत्तर प्रदेश, वाराणसी स्थायी घर भएका ४२ वर्षीय अश्वनीकुमार सिंहलाई राति करिब साढे १ बजे गोदावरी नगरपालिका–६ लालपुरबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार ठक्कर दिएपछि सिंह गाडीसहित लालपुरस्थित आफ्नै ससुराली घरमा पुगेर लुकेर बसेका थिए। विशेष सूचनाका आधारमा प्रहरीले उनको खोजी गर्दै ससुराली घरबाटै पक्राउ गरेको जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिकाका ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

भिडियो