पावर न्युज एक्सप्रेस, समाचार | काभ्रे इङ्गलिश माध्यमिक विद्यालयमा स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

काभ्रे इङ्गलिश माध्यमिक विद्यालयमा स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

काभ्रे इङ्गलिश माध्यमिक विद्यालयमा स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
14354  पटक हेरिएको

 

पनौती, असार २०। काभ्रे इङ्गलिश माध्यमिक विद्यालय, पनौतीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ र विद्यालय तहको एसएलसी २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई बधाई एवं शुभकामना प्रदान गर्न विशेष कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवालको अध्यक्षतामा आयोजित कार्यक्रममा श्री श्रीमेहर गणका योजना अधिकृत तथा सेनानी कृष्णबहादुर थापा प्रमुख अतिथि तथा पनौती नगरपालिकाको शिक्षा शाखाका स्रोतव्यक्ति महेश्वर जङ्गम विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले अनुशासन, परिश्रम, सकारात्मक सोच र स्पष्ट लक्ष्य नै सफल जीवनका आधारस्तम्भ भएको उल्लेख गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा, नैतिक मूल्य र अनुशासनबाट नै सक्षम, जिम्मेवार तथा राष्ट्रप्रति समर्पित नागरिक निर्माण सम्भव हुने बताउँदै विद्यार्थीहरूलाई निरन्तर अध्ययन, आत्मविश्वास र उच्च लक्ष्यका साथ अघि बढ्न प्रेरित गर्नुभयो।

विशिष्ट अतिथि जङ्गमले विद्यालयले छोटो समयमै शैक्षिक क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै विद्यार्थी–केन्द्रित सिकाइ, प्रविधिमैत्री शिक्षण, नैतिक शिक्षा तथा सिर्जनशील गतिविधिहरूलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले एसईई तथा एसएलसीमा उत्कृष्ट सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।

सभाध्यक्ष जगन्नाथ अवाले विद्यालयको निरन्तर शैक्षिक प्रगति शिक्षक, अभिभावक, विद्यार्थी तथा व्यवस्थापनबीचको समन्वय र सहकार्यको प्रतिफल भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्न विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो।

विद्यालयका प्रिन्सिपल वसन्तराज नेपालले नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालय परिवारमा हार्दिक स्वागत गर्दै एसईई तथा एसएलसी २०८२ मा सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक र अभिभावकलाई बधाई ज्ञापन गर्नुभयो। उहाँले विद्यालयको गौरवपूर्ण उपलब्धि सामूहिक समर्पण, मेहनत र विश्वासको परिणाम भएको उल्लेख गर्दै आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ विद्यालय अघि बढिरहेको जानकारी दिनुभयो।

कार्यक्रमका अवसरमा एसईई तथा एसएलसी २०८२ मा विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। साथै, विद्यालयको उत्कृष्ट नतिजामा महत्वपूर्ण योगदान पुर्‍याउने कम्प्युटर विषयका शिक्षक सरोज कार्की र अङ्ग्रेजी विषयकी शिक्षक निर्मला राउतलाई विशेष सम्मानसहित पुरस्कृत गरिएको थियो।

विद्यार्थीहरूले प्रस्तुत गरेका आकर्षक सांस्कृतिक कार्यक्रम, गीत, नृत्य तथा अन्य सिर्जनात्मक प्रस्तुतिहरूले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएका थिए। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, पूर्वविद्यार्थी तथा स्थानीय शिक्षाप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालयले यस्ता कार्यक्रमहरूले उत्कृष्ट शैक्षिक उपलब्धिको सम्मान गर्नुका साथै नवआगन्तुक विद्यार्थीहरूमा अपनत्व, आत्मविश्वास र उत्कृष्टता हासिल गर्ने प्रेरणा अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित खबर

भिडियो