काभ्रे । श्री भक्तेश्वर गोसाइँकुण्ड माध्यमिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विज्ञ डा. चन्द्रप्रसाद लुईटेलले अभिभावकहरूलाई करिब एक घण्टा प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा डा. लुईटेलले बालबालिकाको राम्रो भविष्य निर्माणका लागि अभिभावक, शिक्षक र विद्यालयबीच राम्रो समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकालाई राम्रो संस्कार, अनुशासन र शिक्षा दिन घर र विद्यालय दुवैको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज शाहले बालबालिकालाई असल नागरिक बनाउन अभिभावक र शिक्षक दुवैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले अभिभावकलाई आफ्ना बालबालिकालाई नियमित रूपमा विद्यालय पोसाकमा विद्यालय पठाउन र पढाइप्रति विशेष ध्यान दिन आग्रह गर्नुभयो।
उहाँले शिक्षकहरू समयअनुसार प्रविधिमैत्री र सक्षम बन्न सके विद्यार्थीहरू पनि सक्षम र प्रतिस्पर्धी बन्ने बताउनुभयो। साथै, जिल्लाकै नमुना विद्यालय बनाउने लक्ष्यका साथ सबै अभिभावक, शिक्षक र सरोकारवालाले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष शाहले राम्रो काम गर्नेलाई प्रोत्साहन र पुरस्कृत गर्ने तथा कमजोरी गर्नेलाई सुधारका लागि आवश्यक कदम चालिने समेत बताउनुभयो। कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यालय परिवारको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक गंगाराम ठकुरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य तथा विद्यालयका गतिविधिबारे जानकारी प्रधानाध्यापक दामोदर गौतमले दिनुभएको थियो।














