काठमाडौं । ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन, व्यवसायीहरूको हित संरक्षण तथा पर्यटन क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै युवा पर्यटन व्यवसायी प्रकाश श्रेष्ठले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने निर्णय गर्नुभएको छ।

परिषद्को आगामी असार २७ गते (११ जुलाई २०२६) काठमाडौंको नयाँबजारस्थित नयाँबजार मल्टि भेन्युमा आयोजना हुने ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो।
लामो समयदेखि ठमेलको पर्यटन तथा आतिथ्य क्षेत्रमा सक्रिय रहँदै आउनुभएका श्रेष्ठले ठमेललाई अझ सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धतासहित उम्मेदवारी अघि सार्नुभएको बताइएको छ। उहाँले पर्यटन व्यवसायको पुनरुत्थान, व्यवसायीबीच सहकार्य अभिवृद्धि तथा युवा व्यवसायीहरूको प्रतिनिधित्वलाई नेतृत्व तहसम्म पुर्याउने लक्ष्य राख्नुभएको छ।
ठमेलको सुरक्षा व्यवस्थाप्रति विशेष चासो राख्दै आउनुभएका श्रेष्ठले यसअघि पनि विभिन्न सुरक्षा सुधारका पहलहरू गर्नुभएको थियो।
सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय श्रेष्ठले २०७२ सालको विनाशकारी भूकम्पपछि काभ्रे जिल्लाका विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री तथा राहत सहयोग उपलब्ध गराउनुभएको थियो। त्यसैगरी कोभिड–१९ महामारीका क्रममा काभ्रेपलाञ्चोकका विद्यालय तथा स्थानीय समुदायलाई स्वास्थ्य सामग्री, राहत तथा अन्य आवश्यक सहयोग प्रदान गर्दै सामाजिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण प्रभावित बनेको ठमेलको पर्यटन तथा व्यावसायिक क्षेत्रलाई पुनर्जीवित गर्न, व्यवसायीहरूबीच एकता र सहकार्य बढाउन तथा युवा पुस्ताको आवाजलाई नेतृत्व तहसम्म पुर्याउन आफूले उम्मेदवारी दिन लागेको श्रेष्ठले बताउनुभयो।
“ठमेल नेपालको पर्यटनको मुटु हो। यहाँका रैथाने घरधनी, पुराना तथा नयाँ व्यवसायी, साथै आन्तरिक र बाह्य पर्यटक सबैको हितलाई केन्द्रमा राखेर काम गर्ने दृढ प्रतिबद्धतासहित मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ,” श्रेष्ठले भन्नुभयो।
स्थानीय व्यवसायी, घरधनी, अग्रज पर्यटनकर्मी, पूर्व अध्यक्षहरू तथा जनप्रतिनिधिहरूबाट समेत श्रेष्ठको उम्मेदवारीप्रति सकारात्मक समर्थन प्राप्त हुने विश्वास गरिएको छ। उहाँको उम्मेदवारीले ठमेलको पर्यटन विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा क्षेत्रको अन्तर्राष्ट्रिय छवि सुदृढीकरणमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।














