पावर न्युज एक्सप्रेस, समाचार | २१ दिने एडभान्स बारिस्टा तालिम सम्पन्न, सीपमार्फत रोजगारी सिर्जनामा जोड

२१ दिने एडभान्स बारिस्टा तालिम सम्पन्न, सीपमार्फत रोजगारी सिर्जनामा जोड

२१ दिने एडभान्स बारिस्टा तालिम सम्पन्न, सीपमार्फत रोजगारी सिर्जनामा जोड
19390  पटक हेरिएको

 

धुलिखेल, असार १५ – धुलिखेल नगरपालिकाको आर्थिक सहयोग तथा धुलिखेल नगरपालिका वडा नं. ४ को समन्वयमा Innovative Hospitality Management Training Center (IHM) द्वारा सञ्चालित २१ दिने एडभान्स बारिस्टा तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगम उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीको उपस्थिति रहेको थियो ।कार्यक्रमको सभाध्यक्षता धुलिखेल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम तिमल्सिनाले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगरप्रमुख निराजन जंगमले भन्नुभयो, “युवा पुस्तालाई सीपसँग जोडेर आत्मनिर्भर बनाउनु आजको आवश्यकता हो। यस्ता व्यावसायिक तालिमले रोजगारी र उद्यमशीलताको ढोका खोल्ने विश्वास लिएको छु।”
त्यसैगरी सभाध्यक्ष एवं वडा अध्यक्ष उत्तम तिमल्सिनाले भन्नुभयो, “सीप सिकेका युवाहरूले अब अवसरको खोजी मात्र होइन, अवसर सिर्जना गर्ने दिशामा अघि बढ्नुपर्छ। स्थानीय सरकार यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तर सहयोग गर्न प्रतिबद्ध छ।”

विशेष अतिथिका रूपमा वडा नं. १ का वडा अध्यक्ष सन्त बहादुर तामाङ तथा वडा नं. ९ का कार्यवाहक वडा अध्यक्ष बालकृष्ण गौतमको उपस्थिति रहेको थियो। कार्यक्रममा IHM की प्रशिक्षक अनिशा गिरी को समेत विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै Innovative Hospitality Management Training Center (IHM) का प्रबन्ध निर्देशक कामदेव शाह ठकुरी ले भन्नुभयो, “हाम्रो उद्देश्य तालिम मात्र प्रदान गर्नु होइन, दक्ष जनशक्ति उत्पादन गरी रोजगारीसँग जोड्नु हो। सीप, अनुशासन र गुणस्तरलाई केन्द्रमा राखेर आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नेछौं।”
२१ दिने उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरूले बारिस्टा सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गरेका छन्।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने धुलिखेल नगरपालिका, वडा कार्यालय, जनप्रतिनिधि, प्रशिक्षक, कर्मचारी तथा सम्पूर्ण प्रशिक्षार्थीप्रति IHM धन्यवाद तथा आभार व्यक्त गरेको छ।

“Skill for Employment, Quality for Success” भन्ने मूल नाराका साथ IHM ले आगामी दिनमा पनि युवाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र रोजगारमुखी बनाउन निरन्तर योगदान दिने जनाएको छ।

सम्बन्धित खबर

भिडियो