पावर न्युज एक्सप्रेस, समाचार | झोरमा इतिहासको सम्मान: सडक कविता क्रान्ति २०३६ का नायकहरूलाई सम्मान

झोरमा इतिहासको सम्मान: सडक कविता क्रान्ति २०३६ का नायकहरूलाई सम्मान

झोरमा इतिहासको सम्मान: सडक कविता क्रान्ति २०३६ का नायकहरूलाई सम्मान
26214  पटक हेरिएको

काठमाडौं, असार १३। राजन थापा
शब्दले परिवर्तनको सपना बोकेको इतिहासलाई फेरि एकपटक सम्मान गरिएको छ। टोखा नगरपालिका–१ को आयोजनामा तथा नेपाली लेखक संघको सह-आयोजनामा झोरस्थित झरना पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा सडक कविता क्रान्ति २०३६ का अग्रज स्रष्टाहरूलाई सम्मान गर्दै साहित्य, चेतना र इतिहासलाई एकै मञ्चमा जोडिएको भावपूर्ण वातावरण सिर्जना गरियो।
वर्षौँअघि सडकमा कविता सुनाएर परिवर्तनको चेतना फैलाउने अभियानका चार अग्रज कवि **हरि अधिकारी, किशोर पहाडी, राधेश्याम लेकाली र सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ लाई सम्मान गरिँदा कार्यक्रमस्थल भावनाले भरिएको थियो।

वडाध्यक्ष रमेशकुमार लमिछाने को सभापतित्व तथा लेखक–पत्रकार किशोर नेपाल को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संयोजक माधव विडारी चेतनपथ ले टोखामा साहित्यिक गतिविधिको निरन्तरताबारे प्रकाश पारे।

प्रमुख अतिथि किशोर नेपालले सडक कविता क्रान्तिका योद्धाहरूलाई सम्मान गरिएको क्षणलाई इतिहासप्रतिको सम्मानको रूपमा व्याख्या गर्दै यसले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे।

सम्मानित स्रष्टा हरि अधिकारीले २०३६ सालको सडक कविता आन्दोलनको स्मरण गर्दै त्यसबेलाको संघर्ष र चेतनाको यात्रा सुनाए। उनले स्वर्गीय सम्पादक भवानी घिमिरे को योगदानलाई विशेष रूपमा सम्झिए।

लेखक तथा पत्रकार पुरुषोत्तम दाहाल ले साहित्य र चेतना एकअर्काका परिपूरक भएको उल्लेख गर्दै कलाकार गहना नभई समाजको हृदयको स्पन्दन भएको धारणा राखे।

बालसाहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल ले पठन संस्कृतिको विकासमा जोड दिँदै बालबालिकाले पाँच वर्षभित्र कम्तीमा एक हजार पुस्तक पढ्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमका सूत्रधार कवि प्रकाश घायल ले सबै अग्रजलाई एकैपटक सम्मान गर्न नसकिए पनि चार जना स्रष्टालाई सम्मान गर्न पाउँदा आफ्नो लामो समयदेखिको सपना पूरा भएको भावुक प्रतिक्रिया दिए।

दोस्रो चरणमा आयोजित कविता वाचनमा २५ जना कविहरूले आफ्ना सिर्जना प्रस्तुत गरे भने तेस्रो चरणमा गजलकारहरूले गजलमार्फत साहित्यिक वातावरणलाई अझ जीवन्त बनाएका थिए।

 

वडा सदस्य सुनिता अधिकारी ले स्वागत मन्तव्य व्यक्त गर्दै ज्ञान, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताइन्।

झोरको शान्त वातावरणमा सम्पन्न यो कार्यक्रम केवल सम्मान समारोह मात्र बनेन, बरु शब्द, संघर्ष, इतिहास र नयाँ पुस्ताबीचको सेतुका रूपमा स्मरणीय बन्यो। सडकमा गुञ्जिएका कविताका आवाज आज पनि समाजलाई चेतना, साहस र सिर्जनशीलताको बाटो देखाइरहेछन् भन्ने सन्देश कार्यक्रमले दिएको अनुभूति सहभागीहरूले गरेका थिए।

सम्बन्धित खबर

भिडियो