काभ्रे, असार १८ – काभ्रेपलाञ्चोक जिल्लाको –३, माझीफेदास्थित वडा कार्यालय अबदेखि नवनिर्मित भवनबाट सञ्चालनमा आएको छ। यसअघि वडा कार्यालयले पुरानो गाविस भवनबाट स्थानीय नागरिकलाई सेवा प्रदान गर्दै आएको थियो।
वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईंका अनुसार अबदेखि सम्पूर्ण प्रशासनिक तथा स्थानीय सरकारी सेवाहरू नवनिर्मित वडा कार्यालय भवनबाट सञ्चालन गरिनेछ।

नयाँ भवनमा कार्यालय स्थानान्तरण भएसँगै सेवाग्राहीलाई थप सहज, व्यवस्थित तथा प्रभावकारी ढंगले सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष चौंलागाईंले आधुनिक तथा सुविधासम्पन्न भवनले सेवाप्रवाहलाई थप गुणस्तरीय बनाउने बताउनुभयो।
नवनिर्मित भवनबाट जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, नागरिकता सिफारिसलगायतका स्थानीय सरकारी सेवाहरू नियमित रूपमा प्रवाह गरिने जनाइएको छ।
स्थानीयवासीले नयाँ भवन सञ्चालनमा आएपछि सेवा लिन सहज हुने अपेक्षा गरेका छन्। वडा कार्यालयले पनि सेवाप्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएको छ।













