सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अन्वेषण योजना शाखाको आयोजनामा तथा तालुक नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागको समन्वयमा प्रदेश अन्तर्गतका विभिन्न १५ वटा कार्यालयमा दैनिक कार्यसम्पादन अभिलेख ढाँचा प्रविष्ट गर्ने जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सञ्चालित १ दिने “दैनिक कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी अनुशिक्षण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका डिआईजी दिलीप सिंह देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको समापन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाज्यूको उपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम बहादुर बिष्टको समेत उपस्थिति रहेको थियो । उक्त अनुशिक्षण कार्यक्रममा प्रदेशका विभिन्न कार्यालयबाट सहभागी भएका जम्मा ३४ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका दौरान दैनिक कार्यसम्पादन अभिलेख ढाँचाको उद्देश्य, अभिलेख व्यवस्थापन प्रणाली, तथ्याङ्क प्रविष्टि प्रक्रिया, प्रतिवेदन तयारी तथा अभिलेखीकरणका व्यावहारिक पक्षहरू सम्बन्धमा विस्तृत सहजीकरण गरिएको थियो। साथै, अभिलेख प्रविष्टिमा एकरूपता कायम गर्ने, तथ्याङ्कको शुद्धता तथा विश्वसनीयता अभिवृद्धि गर्ने र कार्यसम्पादन मूल्याङ्कनलाई थप प्रभावकारी बनाउने विषयमा समेत सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो ।
उक्त अनुशिक्षण कार्यक्रमले दैनिक कार्यसम्पादन अभिलेखीकरण प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी, पारदर्शी तथा परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।














