काठमाडौं,
जेठ २७ ।
सरकारले देशभरका २५ प्रकारका अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत उक्त निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।

मन्त्रालयका अनुसार जनजीवन, सार्वजनिक सुरक्षा तथा अत्यावश्यक सेवा प्रवाहमा असर नपरोस् भन्ने उद्देश्यले विभिन्न क्षेत्रलाई ‘अत्यावश्यक सेवा’ घोषणा गर्दै हडताल निषेध गरिएको हो ।
सरकारले हडताल गर्न निषेध गरेका सेवाहरूमा डाँक, टेलिफोन, यातायात, हवाई सेवा, सञ्चार, आन्तरिक सुरक्षा, खानेपानी, स्वास्थ्य, विद्युत्, बैंकिङ, बिमा, पेट्रोलियम पदार्थ, औषधि उत्पादन तथा वितरण, फोहोरमैला व्यवस्थापन, इन्टरनेट सेवा लगायतका क्षेत्र समावेश छन् ।
त्यसैगरी दैनिक उपभोग्य वस्तुको आपूर्ति, मौसम पूर्वानुमान तथा बाढी पूर्वसूचना सेवा, भेटेरिनरी सेवा, राहदानी तथा कन्सुलर सेवा, पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, रेस्टुरेन्ट र रिसोर्ट सेवा पनि अत्यावश्यक सेवाको सूचीमा राखिएको छ ।
सरकारको यो निर्णयसँगै सूचीकृत सेवाहरूमा आबद्ध कर्मचारी तथा श्रमिकहरूले कानुनी रूपमा हडताल गर्न पाउने छैनन् । सरकारले सार्वजनिक हित र सेवा प्रवाहलाई अवरुद्ध हुन नदिन यस्तो व्यवस्था गरिएको जनाएको छ । यो व्यवस्था नेपाल राजपत्रमा सूचना प्रकाशित भएसँगै लागू भएको छ ।














